logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

जसपा नेतृ यादवले पड्काएको पेस्तोल ‘नक्कली’, फरेन्सिक जाँच गरिने


  • उज्यालो अभियान

प्रहरीले नक्कली भनेको पेस्तोल र छेउमै पेस्तालमा हालेर पडाइएको पहँलो रंगको बारुद ।

मलंगवा, १८ बैशाख – जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ डा. बबीसिंह यादवले विवाहको हल्दी मेहन्दीमा पड्काएको पेस्तोल ‘नक्कली’ रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

उक्त पेस्तोल आज सर्लाही प्रहरीले बरामद गरेको छ । सप्तरीको बोदेबरसाइन नगरपालिका–५, घर भएकी नेतृ यादवले सर्लाहीको मलङ्गवा नगरपालिका–५, भाडसरमा आएर विवाहको हल्दी मेहन्दीमा पेस्तोल पड्काएको भिडियो आज बिहानैदेखि टिकटिक र अन्य सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

अन्य केही आफन्तसँग नाच्दै गर्दा यादवले पेस्तोल पड्काएको भिडियो भाइरल भएपछि उहाँलाई आज बिहान सप्तरी प्रहरीले जिल्ला प्रहरी कार्यालय राजविराजमा बोलाएर सोधपुछ गरेको छ । त्यसक्रममा यादवले उक्त पेस्तोल सर्लाहीमा आफन्तको विवाहमा आउँदा पड्काएको स्वीकार गरेपछि सप्तरी प्रहरीले सर्लाही प्रहरीलाई जानकारी गरायो ।

सप्तरीबाट प्राप्त सूचनाको आधारमा अनुसन्धान गर्दा यादवले उक्त पेस्तोल यही बैशाख ११ गते सीमावर्ती क्षेत्रस्थित मलङ्गवा नगरपालिका–५, भाडसरका वसन्त कुमारकी छोरी सुप्रिया कुमारीको हल्दी मेहन्दीमा पड्काएको स्वीकार गरेको प्रहरीले जनाएको छ । बबीसिंह यादव वसन्त कुमारको भान्जी हुन् ।

सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले बबीसिंह यादवले उक्त नक्कली पेस्तोलमा बारुद हालेर पड्काएको पाइएको जानकारी दिए । सो पेस्तोल र बारुद आज दिउँसो जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले वसन्त कुमारका दाई मलङ्गवा नगरपालिका–२, का अन्जनी तिलहरीको घरबाट बरामद गरेको छ ।

यस घटनाका सम्वन्धमा अनुसन्धान प्रक्रिया के–कसरी अघि बढाउने भनी सरकारी वकिलसँग परामर्श गरिने डिएसपी राईले उज्यालो अभियानसँग बताए । डिएसपी राईका अनुसार बरामद पेस्तोल झट्ट हेर्दा गोली हालेर पड्काउने सक्कली पेस्तोल जस्तै देखिएको र थप पुुष्टीका लागि फरेन्सिक परीक्षण गर्न काठमाडौं पठाउने तयारी गरिएको छ ।