सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)
मलंगवा, १५ बैशाख – सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रबहादुर सिंहको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले ६३ जना एसपीको सरुवा निकाल्दा १४ महिनादेखि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत एसपी सिंहको प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालय नक्साल, काठमाडौंमा सरुवा भएको हो । सर्लाहीमा एसपी योगेन्द्रकुमार खड्का आउने भएका छन् । खड्का लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर, बाँकेबाट सरुवा भएर सर्लाही आउने भएका हुन् ।
बैशाख महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको जिल्लाबाटै खान पाउने गरी प्रहरी प्रधान कार्यालयले एसपीहरुको सरुवा गरेको छ । इन्स्पेक्टर र डिएसपीपछि प्रहरी हेडक्वार्टरले एसपीको सरुवा गरेको हो ।
सर्लाहीमा इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी, इलाका प्रहरी कार्यालय लालबन्दी, इलाका प्रहरी कार्यालय चक्रघट्टा र जिल्ला प्रहरी कार्यालयमा कार्यरत इन्स्पेक्टरको दुई दिनअघि मात्रै सरुवा भएको थियो ।