logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

चन्द्रनगरमा २० जनालाई ह्वील चेयर वितरण


  • उज्यालो अभियान

बबरगन्ज, १३ बैशाख – सर्लाहीको चन्द्रनगर गाउँपालिकामा अपाङ्गता भएका २० जनालाई ह्वील चेयर वितरण गरिएको छ ।

नेपाल–भारत महिलामैत्री समाजले चन्द्रनगर गाउँपालिका वडा नम्बर १ देखि ७ सम्म बसोवास गर्ने अपाङ्गता भएका २० जनालाई ह्वील चेयर उपलब्ध गराएको हो । चन्द्रनगर गाउँपालिका २ बबरगन्ज पर्ती बजारमा समाजको अध्यक्ष समेत रहेकी पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य चन्दा चौधरी, समाजकी उपाध्यक्ष राधाकुमारी कायस्थ र गाउँपालिका अध्यक्ष राजकुमार महतोले संयुक्तरुपमा अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्रीका रुपमा ह्वील चेयर हस्तान्तरण गरेका हुन् ।

चन्द्रनगर गाउँपालिका–३, का सिकिन्द्र महतोले ह्वील चेयर प्राप्त गरेपछि हिँड्डुल गर्न केही सहज भएको भन्दै खुसी व्यक्त गरे । महतोसहित अपाङ्गता भएका व्यक्तिले कुनै पनि निकाय एवं सङ्घसंस्थाबाट यसरी पहिलो पटक ह्वील चेयर प्राप्त गरेको बताएका छन् ।

नेपाल–भारत महिलामैत्री समाजले भारत सरकारको सहयोगमा जिल्लाको ग्रामीण भेगमा पर्ने चन्द्रनगरमा ह्वील चेयर ल्याएर वितरण गरेको हो ।

गरिब तथा विपन्न र अपाङ्गता भएका व्यक्तिलाई संस्थाले यस प्रकारको सहयोग गर्दै आइरहेको समाजकी अध्यक्ष चौधरीले बताईन् ।