लालबन्दी ८ स्थित हालको लालबन्दी नगरपालिकाको कार्यालय ।
लालबन्दी, १२ बैशाख – सर्लाहीको लालबन्दी नगरपालिकाले आन्दोलनको स्वरुप बदलेर भएपनि यथाशिघ्र विद्यालय संचालनको वातावरण मिलाउन माग गरेको छ ।
नगरप्रमुख वासुदेव अधिकारीले सूचना जारी गर्दै तीन साता भन्दा बढी दिनदेखि संघीय शिक्षा ऐन जारीलगायतका माग राखेर शिक्षक महासंघले अनिश्चितकालिन शैक्षिक हड्ताल गरिरहेकोप्रति नगरपालिकाको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । विद्यार्थी भर्ना कार्य प्रभावित बनाई बालबालिकाको पढ्न पाउने अधिकारमाथि खेलवाड गर्ने छुट कोहीलाई नरहेको नगरप्रमुख अधिकारीले उल्लेख गरेका छन् ।
आन्दोलनको स्वरुप बदलेर यथाशिघ्र विद्यालय खोली विद्यार्थी भर्ना कार्य, पाठ्यपुस्तक वितरणसहित पठनपाठन कार्य सूचारु गर्नु/गराउनु हुन नगरपालिकाले सम्पूर्ण सरोकारवालामा अनुरोध गरेको हो । नगरप्रमुख अधिकारीले भर्खरै दरबन्दी मिलान तथा सरुवामा समावेश भएका लालबन्दी नगरपालिका अन्तर्गतका सबै शिक्षकलाई आ–आफ्नो तोकिएको विद्यालयमा हाजिर भई उक्त कार्यमा पूर्णरुपले सहयोग गर्नुहुन अनुरोध समेत गरेका छन् ।
जिल्लाकै शैक्षिक हबको रुपमा रहेको लालबन्दीमा निजी विद्यालयले भ्याइनभ्याइ गरेर विद्यार्थी भर्ना गरिरहेका बेला नगरपालिका कार्यालयले सामुदायिक विद्यालय पनि तत्कालै संचालन गरेर पठनपाठनको व्यवस्था मिलाउन अपिल गरेको हो ।
सर्वोच्च अदालतले हिजो मात्रै तीन दिनभित्र आन्दोलन अन्त्य गरेर विद्यालय खुल्ने वातावरण सिर्जना गर्न आदेश दिइसकेको छ ।