logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

मेयर थापासहित छ जना विरुद्ध वन मुद्दा दर्ता, डेढ अर्व बिगो दावी


  • उज्यालो अभियान

सर्लाही जिल्ला अदालत । (तस्बीर : उज्यालो अभियान)

बागमती, ११ बैशाख – बागमती नगरपालिकाका निलम्बनमा रहेका मेयर भरतकुमार थापासहित छ जनाविरुद्ध आज सर्लाही जिल्ला अदालतमा वन मुद्दा दायर भएको छ ।

डिभिजन वन कार्यालय सर्लाहीले सागरनाथ वन विकास परियोजनाको जग्गा अतिक्रमण गरी बागमती माछा पोखरी (भरत ताल) निर्माण गरेको अभियोगमा नगरप्रमुख थापासहित छ जना विरुद्ध वन मुद्दा दर्ता गरेको हो । मेयर थापा, उपमेयर लीलाकुमारी मुक्तान, जिल्ला समन्वय समिति सर्लाहीका तत्कालिन प्रमुख मेथुर चौधरी, बागमती नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालिन लेखा अधिकृत विश्वराज पोखरेल र तत्कालिन इन्जिनियर सागर पौडेललाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

सर्लाही जिल्ला अदालतका सूचना अधिकारी सिकिन्दर कापरले बिना अनुमति वन पैदावार उत्खनन गरिएको भनी आज डिभिजन वन कार्यालयले मुद्दा दर्ता गरेको उज्यालो अभियानलाई पुष्टी गरे । डिभिजन वन कार्यालयले छ जनाविरुद्ध एक अर्ब ४९ करोड ३९ लाख ४३ हजार ३३७ रुपियाँ बिगो कायम गरी पाँच वर्षसम्म कैद वा एक लाख रुपियाँ जरिवाना वा दुवै सजाय हुनुपर्ने माग गरेको छ ।

आफ्नो पार्टीबाट निर्वाचित नगरप्रमुख, उपप्रमुखलगायतविरुद्ध वन मुद्दा दायर गरेर फसाउने षडयन्त्र गरिएको भन्दै नेकपा माओवादी केन्द्र सर्लाहीले गएको माघमा सडक आन्दोलन नै गरेको थियो ।

त्यस्तै केही समयअघि माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभालाई सम्वोधन गरी विकासप्रेमी मेयर थापालगायतलाई षडयन्त्रपूर्ण हिसाबले वन मुद्दा दायर गरेर सरकारले नै फसाउन लागेको भन्दै असन्तुष्टी जनाएका थिए ।