मलंगवा, ०९ बैशाख – सर्लाही सदरमुकाम मलंगवामा आजबाट जिल्लाका पत्रकारका लागि क्षमता अभिवृद्धि सम्वन्धि दुई दिने तालिम सुरु भएको छ ।
सुनौलो सिसौट नेपाल नामक संस्थासँग समन्वय गरी नेपाल पत्रकार महासंघ सर्लाही शाखाले सदरमुकाम मलंगवामा तालिमको आयोजना गरेको हो । सक्रिय पत्रकारिता गरिरहेका यहाँका पत्रकारलाई वर्तमान अवस्थामा समाचारमा उठान गर्नुपर्ने विषय वस्तुलाई विकसित प्रविधिको प्रयोग गरी के–कसरी बाहिर ल्याउने भनी सिकाइने नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरले जानकारी दिए ।
तालिमको आज सुनौलो सिसौट नेपालका अध्यक्ष अरुणकुमार प्रताप सिंहको अध्यक्षता, जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंहको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको विशिष्ठ आतिथ्यतामा उद्घाटन गरिएको हो ।
तालिम उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक रवीन्द्र कार्की, नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीलगायतको आतिथ्यता रहेको थियो । तालिम भोलीसम्म संचालन हुने छ ।