जुटपानीको जीर्ण अवस्थामा रहेको झोलुंगे पुल । (तस्बीर : उज्यालो अभियान)
नवलपुर, ०७ बैशाख – सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको जीर्ण अवस्थाको झोलुङ्गे पुलमुनी आज बिहान एक पुरुष मृत परेका छन् ।
लालबन्दी २ कै गैरीटोल घर भएका ४५ वर्षीय लक्ष्मण महतो मृत फेला परेका हुन् । महतोको सोही झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको आशङ्का गरिएको छ ।
लालबन्दी नगरपालिका–२, जुटपानी, हरिपुर नगरपालिका–२, सानो जगतपुर र हरिवन नगरपालिका–५, घुर्कौलीको संगमस्थलमा पर्ने झोलुुङ्गे पुल लामो समयदेखि जीर्ण अवस्थामा रहेको भए पनि मर्मतका लागि कुनै पनि निकायले चासो देखाएका छैनन् ।
पुलको बिच भागमा फलाम झरेर ठूलो भ्वाङ परेको लामो समय भइसक्दा समेत मर्मत नगरिँदा दुःखद् घटना भएको स्थानीयले बताएका छन् । लालबन्दी नगरपालिका २ का वडाध्यक्ष किरणकुमार पासवानका अनुसार मृतक महतो घुर्कौली क्षेत्रमा ज्याला मजदुरीको काम गर्थे ।
उनी गएराति काम गरेर घरतर्फ आउँदै गर्दा भ्वाङ परेको पुलबाट खसेको जस्तो देखिएको वडाध्यक्ष पासवानले बताए । पुलमा भ्वाङ परेको ठाउँबाट सिधा तल खोलामा महतो मृत फेला परेका छन् ।
बारम्बार दुर्घटना हुन थालेपछि पुल मर्मत गरिदिन पुल महाशाखामा ताकेता गरे पनि सुनुवाई नै नभएको वडाध्यक्ष पासवानले बताए ।
प्रहरीले घटनास्थलको प्रकृति मुचुल्का गरी मृतक महतोको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुजन पाठकले प्रारम्भिक अनुसन्धानमा महतो पुलबाट खसेको जस्तो देखिए पनि पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने जानकारी दिए ।