फाइल तस्बीर ।
लालबन्दी, ०५ बैशाख – सर्लाहीको मौसम अहिले सफा रहेको छ ।
यहाँ हिजो दिउँसोदेखि राति अबेरसम्म चट्याङसहित वर्षा भएको थियो । केहीभेगमा एक झर राम्रैसँग वर्षा भएको छ भने कतैकतै फाट्टफुुट्ट वर्षा भएको स्थानीयले बताएका छन् ।
यो वर्ष चैत तेस्रो साता र अहिले बैशाख दोस्रो सातामा गरी २ पटक पानी परिसकेको छ । पानीले अत्यधिक मात्रामा रहेको धुलो, धुँवाको प्रदुुषण घटाइदिएको छ ।
रानिगन्ज, बाँकेलगायत कतैकतै दोहोर्याएर लागिरहेको वन डढेलो हिजो बेलुकाको पानीले निभेको छ । आकाशे वर्षको भर रहेको क्षेत्रमा अहिलेको पानीकै चिसोमा किसानले मकै रोप्न थालेका छन् ।
बेलैमा पानी पर्दा वन जंगलमा घाँसका पालुवा पलाउँदा पशुुवस्तु भएका किसानलाई राहत मिलेको छ । चुरेपाखाका जंगलमा अहिले निगुरो, गाभाजस्ता हरिया सागपात खोज्ने बाक्लै भेटिन्छन् ।
अहिले परेको पानीले चैते धान, मकै खेती र उखुलाई अमृत समान काम गर्ने कृषि प्राविधिकले बताएका छन् । कतैकतै गहुँ बाली भित्र्याउन बाँकी नै रहेका किसानलाई भने पानीले अवरोध गरेको छ ।
यसैबिच, देशका पूर्वी र मध्य भेगका केही ठाउँमा अहिले हल्का पानी परिरहेको छ । पानी पार्ने प्रणाली पश्चिमको तुलनामा मध्य र पूर्वी भेगमा बढी सक्रिय भएको मौसमविदले बताएका छन् ।
आज कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भेगका केही ठाउँहरु तथा बाँकी भेगका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजोदेखि सक्रिय भएको पानी पार्ने नयाँ प्रणालीले पर्सि आइतवारसम्म नै हावाहुरी, चट्याङसहित वर्षा गराउने सम्भावना रहेको मौसमविद्को अनुमान् छ ।
जल तथा मौसम विज्ञान विभागले यो हप्ताभरिकै मौसममा सुधार नआउने भएकाले गहुँ, मुसुरोलगायत बाली अर्को हप्तामात्रै भित्र्याउन भनेको छ ।