logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीमा जुडशीतल पर्व मनाइँदै


  • उज्यालो अभियान

मलंगवा, ०२ बैशाख – सर्लाहीसहित तराई मधेशका जिल्लामा आज जुडशीतल पर्व मनाउनेक्रम जारी छ ।

नयाँ वर्षको अवसरमा मनाइने यस पर्वको पहिलो दिनलाई ‘सतुवाइन’ र दोस्रो दिनलाई ‘जुडशीतल’ भन्ने गरिन्छ । पर्वको मुख्य दिन आज घरपरिवारका ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई शीर अर्थात् टाउकोमा पानी हालिदिएर शीतलता, आरोग्यता र दीर्घजीवनको आर्शीवाद प्रदान गरेका छन् ।

जुडशीतल पर्वको दिन करेसा तथा खेतबारीका रुखविरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । जुडशीतलको अवसरमा सर्लाहीसहित मिथिलाञ्चलको ग्रामीण भेगका स्थानीयले एक आपसमा हिलो दलेर खुसी साटासाट गरिरहेका छन् ।

बैशाख सङ्क्रान्तिका दिन सुरु हुने पर्वको पहिलो दिन हिजो सतुवाइन मनाइएको थियो । सतुवाइनको दिन चना, जौ, मकै, गहुँ, मुुङ्गलगायत सातथरी खाद्यान्नको सातुसँगै सर्वत बनाएर कूलदेवलाई चढाएपछि पुरोहित, ब्राह्मण र साधुलाई दान गरेर मात्रै खाने चलन रहेको छ ।

सर्लाहीमा जिल्ला सदरमुकाम मलङ्गवासहित हरिपूर्वा, पर्सा, ब्रह्मपुरी, कौडेना, गोडैता, बलरा, धनकौलगायत दक्षिणवर्ती पालिकामा हर्षोउल्लासपूर्वक जुडशीतल पर्व मनाउनेक्रम चलिरहेको स्थानीयले बताएका छन् ।

जुडशीतल पर्वको अवसरमा मधेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा नै दिएको छ ।

मुख्यमन्त्री सतीशकुमार सिंहले यस पर्वको अवसरमा सन्देश जारी गर्दै सुख, समृद्धि, आरोग्य, शितलता र दीर्घजीवनको कामना गरेका छन् ।