रानीगन्ज खानेपानीको जिर्ण अवस्थामा रहेको ओभरहेड ट्याङकी । (तस्बीर : उज्यालो अभियान)
रानिगन्ज, ०२ बैशाख – सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानीगन्जमा खानेपानी ट्याङकी अत्यन्त जिर्ण बन्दा पानी वितरणमा समस्या उत्पन्न भएको छ ।
रानीगन्ज खानेपानी मूल उपभोत्ता समितिको २०४५ सालमा स्थापना भएको दुुई लाख २५ हजार लिटर क्षमताको ओभरहेड ट्याङकी चर्किएर चुहिन थालेको लामो समय भइसकेको उपभोक्ताले गुनासो गरेका छन् । २०७२ सालको विनाशकारी भूकम्पपछि रानीगन्ज खानेपानीको ट्याङकी जिर्ण बनेको हो ।
तत्कालिन रानीगन्ज गाउँ विकास समितिको तीनवटा वडामा खानेपानी वितरण हुँदै आएको यो ओभरहेड ट्याङकीबाट अहिले लालबन्दी नगरपालिका १७ को एक हजार २०० घरधुरीमा पानी वितरण हुँदै आएको उपभोक्ता समितिले जनाएको छ । भूकम्पपछि ट्याङकी नै कोल्टिएको र पिल्लर तथा पानी जम्मा हुने भाँडो चर्किएकाले जुनसुकै बेला ट्याङकी ढलेर खानेपानीको हाहाकार हुनसक्ने अवस्था रहेको रानीगन्ज खानेपानी मूल उपभोक्ता समितिका अध्यक्ष पुरुषोत्तम पौडेलले जानकारी दिए ।
नयाँ ओभरहेड ट्याङकी निर्माणका लागि नगरपालिका, प्रदेश र सङ्घीय सरकारसमक्ष बारम्बार धाइरहे पनि कतैबाट बजेट विनियोजन नहुँदा निराश हुनुपरेको उपभोक्ता समितिका अध्यक्ष पौडेलले गुनासो गरेका छन् । “९२ लाख बजेट आउने वडाले ट्याङकी निर्माण गर्ने क्षमता नै छैन भनेर बजेट छुट्याउँदैन, नगरपालिकाबाट छुट्याइने एक/दुुई लाखले रङ्गरोगन र टाललुट गर्नधरी पुुग्दैन्” पौडेलले उज्यालो अभियानसँग भने “हामीले वडा र नगरबाट ठूलो आश गरेका पनि छैनौँ तर तत्काल प्रदेश र सङ्घ सरकारबाट पनि बजेट आउने अवस्था छैन् ।”
खानेपानीको नयाँ ट्याङकी निर्माणका लागि सङ्घीय खानेपानी मन्त्री प्रदीप यादवसँग समेत भेट गरेर फर्किएको तर बजेटको सुनिश्चिता नै नभएको अध्यक्ष पौडेलले दुुःखेसो गरेका छन् । उनले भने “आठ करोड भन्दा माथिको इस्टिमेटसहित साँढे चार लाख लिटर क्षमताको नयाँ ओभरहेड ट्याकी माग गर्यौँ तर बजेटको सुनिश्चितता हुन सकेको छैन् ।”
कुनै भवितव्य वा पुनः सानो भूकम्प आए खानेपानी ट्याङकीमा क्षति हुने अवस्था रहेको उपभोक्ता समितिका अध्यक्ष पौडेलको भनाई छ । ट्याङकीमा क्षति भए रानीगन्जका सबै घरधुरी खानेपानीबाट बञ्चित हुने डर रहेको पौडेलले जानकारी दिए ।
अहिलेको ओभरहेड ट्याङकी तलमाथि भए खानेपानीको हाहाकार मच्चने डर रहेको छ । “रानीगन्जमा यो खानेपानी बाहेक इनार, धारा केही पनि छैनन्,” उपभोक्ता समितिका अध्यक्ष पौडेलले भने, “ट्याङकी जिर्ण भएकै कारण दुुई हजार ५०० घरधुरीमा वितरण हुनुपर्ने खानेपानी एक हजार २०० घरधुरीमा मात्रै पुु¥याउन सकेका छौँ ।”
खानेपानी ट्याङकी चुहिने भएकाले दैनिक बिहान र बेलुका एक/एक घण्टा ट्याङकीमा पानी चढाएर उपभोक्तालाई दुुई घण्टा मात्रै खानेपानी वितरण गर्ने गरिएको छ ।
ट्याङकी जिर्ण भएकाले पानी जम्मा गरेर चौबिसै घण्टा वितरण गर्न नसकिएको उपभोक्ता समितिले जनाएको छ ।
उपभोक्ताबाट खानेपानी शुल्कबापत न्यूूनतम १३५ रुपियाँ सङ्कलन गरेर रानीगन्ज खानेपानीले चारजना कर्मचारी पाल्दै आएको छ । उपभोक्ताबाट उठेको पैसा कर्मचारीको तलब, बिजुली खर्च, टुटफुट मर्मत र जेनेरेटरमा खर्च हुने गरेको अध्यक्ष पौडेलले बताए ।
लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले पुरानो ट्याङकीको मर्मतका लागि नगरबाट वर्षेनि केही समय विनियोजन गर्ने गरिए पनि नयाँ ट्याङकी निर्माण गर्न ठूलो रकम आवश्यक पर्ने भएकाले सङ्घीय सरकार नै गुहार्नुपर्ने स्थिति रहेको बताए । नगरप्रमुख अधिकारीले भने–“नगरकै बजेटबाट करोडौँ खर्चिएर ट्याङकी निर्माण गर्न सम्भव देखिँदैन, त्यसैले सङ्घीय सरकारलाई नै घच्घच्याउन खानेपानी उपभोक्ता समितिलाई भनेका छौँ ।”
सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीले रानीगन्जमा खानेपानीको नयाँ ओभरहेड ट्याङकी निर्माण गर्न उपभोक्ता समितिलाई सँगै मन्त्रालयमा लगेर खानेपानी मन्त्रीसँग भेट गरी बजेट विनियोजन गरिदिन अनुरोध गरेको बताए । “तीन करोड रुपियाँ बिनियोजन गरिदिन मन्त्री ज्यूलाइ पत्र पनि दिएर आएका छौँ,” सांसद चौधरीले भने, “हेरौँ बजेट पर्छ कि पर्दैन ।”
चालू आर्थिक वर्ष २०८१/८२ मा एक करोड रुपियाँ माग गर्दा १० लाख रुपियाँ मात्रै विनियोजन भएको उनले बताए । त्यही १० लाख पनि जिर्ण खानेपानी ट्याङकी मर्मतसम्भारका लागि खर्च गर्ने वातावरण बनाइदिन सम्वद्ध निकायसँग आग्रह गरेको प्रतिनिधि सभा सदस्य चौधरीले जानकारी दिए ।