लालबन्दी, ३० चैत – सर्लाहीको लालबन्दीमा आज नेपाल तामाङ घेदुङको दोस्रो नगर अधिवेशन हुँदै छ ।
लालबन्दी ९ मा रहेको होटल आर्यामा घेदुङको नगर अधिवेशन आयोजना गरिएको लालबन्दी ८ का वडाध्यक्ष शुक्रबहादुर पाख्रिनले जानकारी दिए । पाख्रिनका अनुसार अधिवेशनको आज मध्यान्ह नेपाल तामाङ घेदुुङका केन्द्रीय अध्यक्ष मोहन गोलेले उद्घाटन गर्ने कार्यक्रम छ ।
अधिवेशनले लालबन्दी घेदुुङको नयाँ कार्य समिति चयन गर्ने छ । त्यसका लागि लालबन्दी नगरपालिकाको १७ वटै वडाबाट २०० भन्दा बढी प्रतिनिधि छानिएर आएका छन् ।
तामाङ समुदायको संगठन नेपाल तामाङ घेदुुङ लालबन्दीको अध्यक्षमा लालबन्दी ८ का वडाध्यक्ष पाख्रिन र सोनाम लामा आकांक्षी रहेका छन् ।
अधिवेशनबाट ५ पदाधिकारीसहित १७ सदस्यीय कार्य समिति चयन हुने छ ।
सकेसम्म सर्वसम्मतरुपमै नेतृत्व चयन गर्ने प्रयास हुने यहाँका तामाङ अगुवाले बताएका छन् । केही दिनअघि हरिवनमा सम्पन्न घेदुुङको नगर अधिवेशनले सहमतीमै नेतृत्व चयन गरेको थियो ।