logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हरिपूर्वा दुर्घटना अपडेट : दिदीको मृत्यु, बहिनी घाइते


  • उज्यालो अभियान

हरिपूर्वा, २९ चैत – बाँके सङ्ग्रामपुर सडकअन्तर्गत सर्लाहीको हरिपूर्वा नगरपालिका–९, मिर्चैयामा शुक्रबार बिहान ट्रकले किचेर दिदीको मृत्यु भएको छ भने बहिनी घाइते भएकी छन् ।

श्रीनगरबाट धनकौलतर्फ जाँदै गरेको ना. ५ ख ३८५८ नम्वरको ट्रक किच्दा साइकल चलाइरहेकी सवार ईश्वरपुर नगरपालिका–१३, श्रीनगर बस्ने रामदुलार महतोकी छोरी १७ वर्षीया अन्जलीकुमारी महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकले किचेर साइकल पछाडि सवार अन्जलीकी बहिनी १५ वर्षीया पूजाकुमारी महतो घाइते भएकी छन् ।

घाइते पूजाको श्रीनगरस्थित स्वास्थ्य संस्थामा उपचार चलिरहेको प्रहरीले जनाएको छ । मृतक अन्जलीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए ।

दुर्घटनामा संलग्न ट्रक र त्यसका चालक इलाका प्रहरी कार्यालय केशरगञ्जको नियन्त्रणमा रहेका छन् । स्थानीयका अनुसार रामदुलार महतोको हरिपूर्वा र श्रीनगर दुवै ठाउँमा घर रहेको छ ।

हरिपूर्वामा रहेको घरबाट श्रीनगरतर्फ आउँदै रामदुलारका दुई छोरी दुर्घटनामा परेका स्थानीयले बताएका छन् । दुर्घटना लगत्तै स्थानीयबाट प्रदर्शन हुन सक्ने आँकलन गरी ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।

स्थानीय वासिन्दाले घटनास्थलमा कुनै समस्या नगरेका र दुर्घटनाका सम्वन्धमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।