मलंगवा, २८ चैत – सदरमुकाम मलंगवामा आज सर्लाहीको पत्रकारितामा चूनौति, अवसर र सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको आयोजनामा जिल्ला प्रशासन कार्यालयको सभा हलमा महासंघका जिल्ला अध्यक्ष ओमप्रकाश ठाकुरको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष दीपककुमार आचार्यले स्थानीय पत्रकार र पत्रपत्रिका तथा अन्य संचारमाध्यमको संरक्षण गर्न यहाँका पालिकासँग माग गरेका छन् । पत्रकारको काम राज्यलाई सही ट्रयाकमा हिँडाउने र नागरिकको आवाज मुखरित गर्ने भएकाले यस कार्यमा जिम्मेवार भएर लाग्न उहाँले सर्लाहीका पत्रकारहरुसँग आग्रह गरेका छन् ।
महासंघका केन्द्रीय सचिव प्रकाश धौलाकोटीले जिल्लाका पत्रकारलाई प्रविधिमा अपडेट भएर आफूलाई क्षमतावान बनाउन सुझाव दिएका छन् ।
चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले समाज रुपान्तरणमा ठूलो भूमिका रहेका पत्रकारलाई जिम्मेवार हिसाबले पत्रकारिता गर्न आग्रह गरेका छन् ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जिल्लाका कुनै पनि पत्रकारलाई असुरक्षाको महशुस हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बार एशोसिएसन सर्लाहीका अध्यक्ष ओमप्रकाश थापा, मानव अधिकारकर्मी रजनीकान्त झा, मुकेश मिश्र, महिला अधिकारकर्मी रम्भा झा, नागरिक समाजका अगुवा शिवचन्द्र चौधरी, जिल्लास्थित पत्रकारका विभिन्न संघसंगठनका अध्यक्ष र जिल्लाका पत्रकारहरुले आ–आफ्नो विचार व्यक्त गरेका छन् ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख रवीन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, राष्ट्रिय अनुसन्धानका निमित्त जिल्ला प्रमुख रामरिझन यादवललगायतको आतिथ्यता रहेको थियो ।