लालबन्दी, २७ चैत – यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकको सम्झनामा बुधबार साँझ सर्लाहीमा दीप प्रज्वलन गरिएको छ ।
नेपाल पत्रकार महासङ्घको देशव्यापी कार्यक्रमअन्तर्गत सर्लाहीमा पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी र सदरमुकाम मलङ्गवामा दीप प्रज्वलन गरिएको हो । लालबन्दी नगरपालिका–७, स्थित नगरपालिकाको व्यावसायिक भवन अगाडि आयोजित दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुर, पूर्व अध्यक्ष शङ्कर श्रेष्ठ, पुराना पत्रकार रोहित पौडेल र नेपाल प्रेस युनियन सर्लाही शाखाका अध्यक्ष कृष्णप्रसाद थपलियाले मन्तव्य व्यक्त गर्दै पत्रकार सुरेश मारिएको घटनामा निष्पक्ष छानविन र पीडित परिवारलाई राज्यको तर्फबाट उचित राहतको माग गरेका छन् ।
उनीहरुले यस घटनाबाट पाठ सिक्दै आमपत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न माग समेत गरे । राजावादीले तीनकुनेमा गरेको प्रदर्शनमा भिडियो खिच्न पुगेका एभिन्यूज टेलिभिजनमा कार्यरत काठमाडौंको चन्द्रागिरी नगरपालिका निवासी पत्रकार रजकको आन्दोलनकारीले एक घरमा आगजनी गर्दा त्यहीँ जलेर मृत्यु भएको थियो ।
उनै रजकको सम्झना गर्दै नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको आयोजनामा लालबन्दीमा भएको दीप प्रज्वलन कार्यक्रममा मधेश प्रदेशसभा सदस्य बेची लुङ्गेली, नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्यूत अधिकारी, लोक तथा दोहोरी गीत प्रतिष्ठान सर्लाहीका अध्यक्ष महेन्द्र महतो, लालबन्दी ६ का वडाध्यक्ष प्रत्यासी डुकेन्द्रबहादुर खत्री, लालबन्दी ७ का वडा सदस्य सुरज थापालगायतले पत्रकारको आन्दोलनमा ऐक्यवद्धता व्यक्त गरेका छन् । मधेश प्रदेशसभा सदस्य लुङ्गेलीले आफू पत्रकारको आन्दोलनमा साथमै रहेको बताईन् ।
यस्तै जिल्ला सदरमुकाम मलङ्गवामा रहेका पत्रकारले शहीद चोकमा भेला भएर दीप प्रज्वलन गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ सर्लाहीका पूर्व अध्यक्ष विश्वनाथ ठाकुरको नेतृत्वमा शहीद चोकमा दीप प्रज्वलन गर्दै स्वर्गिय पत्रकार रजकको सम्झना गरिएको महासङ्घको सर्लाही शाखाका सदस्य अमलेश शर्माले बताए ।
पत्रकार रजक मारिएको घटनालाई लिएर केन्द्रबाट तय भएको दोस्रो चरणको आन्दोलनको कार्यक्रमअनुसार सर्लाही जिल्ला शााखाले पनि कार्यक्रम गर्ने जिल्ला अध्यक्ष ओमप्रकाश ठाकुरले उज्यालो अभियानलाई जानकारी दिए ।