फाइल तस्बीर ।
लालबन्दी, २७ चैत – सर्लाहीको मौसम आज बिहानैदेखि बदली भएको छ ।
यहाँ बिहानैदेखि चिसो हावा चलेर पानी पर्लाजस्तो भई मौसम धुम्मिएको हो । यहाँका सर्वसाधारण तथा किसान आकाशे वर्षाको प्रतिक्षामा रहेका छन् ।
पानी पर्न नसक्दा चुरेवर्ती क्षेत्रमा सुक्खापन बढेको छ भने जताततै आगलागी र वन डढेलोका घटना भइरहेका छन् । आकाशे वर्षा भए सिँचाई सुविधा नरहेको चुुरेवर्ती क्षेत्रका किसानले मकै छर्ने तयारी गरेका छन् ।
अहिले जिल्लाका कतिपय किसान भने गहुँ बाली भित्र्याउने, लहरी काट्ने, चना, मसुरोजस्ता दलहन बाली भित्र्याउने चटारोमा समेत रहेका छन् । त्यस्ता किसान भने मौसम खराब हुँदा चिन्तित बनेका छन् ।
चैते धान रोपिरहेका किसानलाई आकाशे वर्षाको खाँचो रहेको छ । लामो समयदेखि पानी पर्न नसक्दा यहाँ धुलो, धुँवाको प्रदुुषण अत्यधिक रहेको छ ।
२ साताअघि जिल्लाको पूर्व पश्चिम राजमार्ग आसपासका क्षेत्रमा एकझर राम्रैसँग वर्षा भएपनि गएको असोजदेखि नै आकाशे वर्षा हुन सकेको छैन् ।
सर्लाहीसहित तराई क्षेत्रमा दिनानुदिन गर्मी बढ्दै गइरहेको छ । आज भने बिहानैदेखि मौसम धुम्मिएर चिसो हावा चलेकाले स्थानीय वासिन्दाले शित्तलताको महशुस गरिरहेका छन् ।
यसैबिच
आज काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको र बंगालको खाडीबाट जलवाष्पयुक्त हावासमेत भित्रिएकाले पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले झापा, सुनसरी, सिराहा, धनकुटा लागयतका जिल्लामा पानी परी रहेको र दिउँसोपछि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए ।
काठमाण्डौमा आज दिउँसो पनि पानी पर्ने सम्भावना छ भने आज भन्दा भोलि केही ठूलो पानी पर्ने सम्भावना छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा शुक्रवार दिउँसोसम्म रहने मौसमविद्को अनुमान् छ ।
यसैबीच काठमाण्डौमो हावा आज पनि अस्वस्थ अवस्थामा रहेको छ । हावाको गुणस्तर मापन सूचक एक्यूआई एक सय ५० भन्दा माथि गएमा सबैका लागि अस्वस्थ हुनेमा अहिले काठमाण्डौको एक्यूआई एक सय ९० भन्दा माथि छ । काठमाण्डौ आज पनि विश्वका प्रदूषित शहरको सूचीमा पहिलो स्थानमै छ ।
आज दिउँसोपछि पर्ने पानी र भोलि पर्ने केही ठूलो पानीले काठमाण्डौको वायु प्रदूषण उल्लेख्य रुपमा घटाउने सम्भावना रहेको मौसमविद् उज्जवल उपाध्यायले बताए ।