लालबन्दी, २७ चैत – सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुुखी क्याम्पसमा सप्ताहव्यापी अतिरिक्त क्रियाकलापलाई लिएर दुई विद्यार्थी संगठनबिच विवाद सुरु भएको छ ।
क्याम्पसमा हिजोबाट अतिरिक्त खेलकुद प्रतियोगिता सुरु भएको थियो । सोही प्रतियोगितालाई लिएर नेपाली कांग्रेस निकट नेपाली विद्यार्थी संघ नेविसंघ र नेकपा एमाले निकट अनेरास्ववियुविच आरोप–प्रत्यारोप चलेको हो ।
अनेरास्ववियु नेतृत्वको स्ववियुले वर्षौदेखि रोकिएको प्रतियोगिता भन्दै उल्लेख गरेपछि नेविसंघले आपत्ति जनाएको छ । क्याम्पसमा यसअघि नेविसंघले स्ववियुको नेतृत्व गरेको थियो ।

नेविसंघ क्याम्पस इकाइ समितिका सभपाति निर्मल अधिकारी (सफल) ले गएसाँझ प्रेस विज्ञप्ती नै जारी गरी यसअघिको स्ववियु नेतृत्वले पनि नियमित अतिरिक्त क्रियाकलाप गरेको र वर्षौपछि अहिले गरिएको भन्दै भ्रम छर्न खोजिएकोमा आपत्ति जनाएका छन् ।
यस्तै नवनिर्वाचित स्ववियु सभापति एवं अनेरास्ववियुका नेता समिर सिंहले विगतमा पनि खेलकुद सप्ताह हुने गरेको तर यो पटकबाट स्ववियुकै प्रत्यक्ष आयोजनामा प्रतियोगिता आयोजना गर्ने परिपाटी सुरु गरिएको दावी गरेका छन् ।
