logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

उदाउँदो सूर्यलाई अर्घ चढाएर चैती छठको समापन


  • उज्यालो अभियान

लालबन्दी, २२ चैत – तराई मधेशका जिल्लामा आज बिहान उदाउँदो सूूर्यलाई अर्घ चढाएसँगै चैती छठ पर्व सम्पन्न भएको छ ।

वसन्ती छठ समेत भनिने चैती छठको मुख्यदिन व्रतालुुले हिजो बेलुका नजिकैको जलाशयमा बनाइएको छठघाटमा पुुगेर अस्ताउँदो सूूर्यलाई अर्घ दिएका थिए । राति छठघाटमै बास बसी आज बिहान पुनः सोही विधिअनुसार उदाउँदो सूूर्यलाई अर्घ चढाएर व्रतालुले पर्वको समापन गरेका हुन् ।

बिहान सबेरै उदाउँदो सूूर्यलाई अर्घ चढाएर व्रतालुु आ–आफ्नो घरमा फर्किएका छन् । उदाउँदो सूूर्यलाई अर्घ चढाउने दिनलाई पारन भन्ने गरिन्छ । छठमा चढाइएको प्रसाद गाउँले तथा इष्टमित्रलाई बाँड्ने प्रचलन रहेको छ ।

चैती छठपर्वका लागि सर्लाहीमा जिल्ला सदरमुकाम मलङ्गवासहित २० वटै पालिकामा खोला, नहर, पोखरीलगायतका जलाशयमा छठघाट निर्माण गरिएको थियो । चार दिनसम्म विधिपूर्वक मनाइने चैती छठपर्व व्रतालुुले गएको मङ्गलबार नहाय खाय विधि गरेर सुरु गरेका थिए ।

कात्तिक र चैत गरी वर्षमा दुुई पटक मनाइने दुवै छठपर्वको मिथिलाञ्चलमा अत्यन्त महत्व रहेको छ । छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया, हात्तीलगायतको सामग्रीहरु चढाइन्छ ।

प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, उखु, बेसार, अदुवा, तरकारी एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्यदेवलाई अर्घको रुपमा चढाउने परम्परा रहेको छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठपर्व मनाउने गरिन्छ ।