बयलवास, २२ चैत – नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रले अतिविपन्नलाई निःशुल्क विद्युत् मिटर वितरण गर्न सुरु गरेको छ ।
आज ईश्वरपुर नगरपालिकाबाट निःशुल्क विद्युत् मिटर वितरण कार्यको शुुभारम्भ गरिएको लालबन्दी वितरण केन्द्र प्रमुख त्रिभुवन यादवले जानकारी दिए । वितरण केन्द्र प्रमुख यादव र ईश्वरपुरका नगरप्रमुख मनोजकुमार आचार्यले आज ईश्वरपुरका १०० भन्दा बढी परिवारलाई निःशुल्क विद्युत् मिटर हस्तान्तरण गरेका हुन् ।
ईश्वरपुरका १५ वटा वडामा निःशुल्क विद्युत् मिटरका लागि २७० जनाको निवेदन परेको र बाँकीलाई समेत मिटर उपलब्ध गराउने प्रक्रिया अघि बढिसकेको वितरण केन्द्र प्रमुख यादवले बताए । इश्वरपुरमा गत वर्ष नै निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने बजेट प्राप्त भएपनि बयलवासमा राखिएको बिजुली महशुल सङ्कलन काउन्टरमा आक्रमण र कर्मचारीमाथि कुटपिट भएपछि बजेट नै फ्रिज भएर गएको थियो ।
यो वर्ष लालबन्दी वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा दुुई हजार अतिविपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर वितरणका लागि बजेट प्राप्त भएको वितरण केन्द्र प्रमुख यादवले बताए ।
पालिकाहरुसँग अतिविपन्न परिवारको विवरण लिने काम भइरहेको वितरण केन्द्रले जनाएको छ । निःशुल्क विद्युत् मिटर प्राप्त गर्दा अतिविपन्न परिवारको करिव दुुई हजार रुपियाँ जोगिने छ ।