logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

चैती छठ : अस्ताउँदो सूर्यलाई अर्घ चढाइयो


  • उज्यालो अभियान

लालबन्दी, २१ चैत – चैती छठपर्व अन्तर्गत व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ चढाएका छन् ।

वसन्ती छठ समेत भनिने चैती छठको तेस्रो तथा मुख्यदिन आज साँझ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् । जसलाई सँझिया घाट भनिन्छ ।

चैती छठपर्वलाई लक्षित गरी सर्लाहीका २० वटै पालिकाका पोखरी, खोला, नदी र नहर किनारलाई सरसफाई गरी छठघाट निर्माण गरिएको छ । चार दिनसम्म मनाइने चैती छठपर्व सोमबारदेखि सुरु भएको थियो ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्तीलगायतको सामग्रीहरु चढाइन्छ । छठमा प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, उखु, हल्दी, अदुवा, तरकारी एवं विविध प्रकारको मिठाई तथा फलफूल सूर्यदेवलाई अर्घको रुपमा चढाउने परम्परा रहेको छ ।

व्रतालुुले पर्वको अन्तिम दिन भोली बिहान उदाउँदो सूूर्यलाई अर्घ दिएपछि छठपर्वको विधिवत्रुपमा समापन हुने छ । यस दिनलाई पारन भन्ने गरिन्छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउनु तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु छठपर्वको विशेषता रहेको व्रतालुुहरु बताउँछन् ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठपर्व मनाउने गरिन्छ ।