मलंगवा, १९ चैत – सर्लाहीमा प्राथमिक तहका शिक्षक रिक्त रहेका पालिकामा नवनियुक्त शिक्षक पठाइएको छ ।
शिक्षक सेवा आयोगबाट प्राथमिक तहमा सिफारिस भएका ३१ जना शिक्षकलाई नियुक्ति पत्र वितरण गरी विभिन्न १३ वटा पालिकामा पठाइएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाले जानकारी दिए । भर्खरै शिक्षक सेवा आयोग उत्तीर्ण भई सर्लाहीका लागि सिफारिस भएका ३१ जना प्राथमिक तहका शिक्षकलाई हिजो सोमबार पब्लिक माध्यमिक विद्यालय मलङ्गवामा नियुक्ति पत्र वितरण र सपथ ग्रहणपछि पालिकाहरुमा पठाइएको हो ।
योग्यताक्रम अनुसार नवनियुक्त शिक्षकलाई रिक्त भएका पालिका छनौट गरेर पठाइएको शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाले जनाएको छ । योग्यताक्रममा अगाडि रहेका शिक्षकले कुन पालिकामा जाने भनी पहिला रोज्न पाउने व्यवस्था छ ।
सोही व्यवस्था अनुसार सर्लाहीका लागि सिफारिस भएका ३१ जना शिक्षकमध्ये पहिलो नम्वरमा रहेका उम्मेदवारले प्राथमिक तहको शिक्षक रिक्त रहेका १३ पालिकामध्ये जुन पालिकामा जान इच्छा व्यक्त गरे, सोही पालिकामा पठाइएको शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाले जनाएको छ ।
त्यसैगरी दोस्रो, तेस्रो हुँदै ३१ नम्वरसम्मका उम्मेदवारले क्रमैसँग आफूले रोजेको पालिकामा जाने व्यवस्था मिलाइएको इकाइका प्राविधिक सहायक कुशवाहाले बताए । नवनियुक्त शिक्षक खटाइएका पालिकालाई शिक्षकको योग्यताक्रमसहितको पत्र पठाइएको र योग्यताक्रममा अगाडि रहेका शिक्षकलाई विद्यालय रोजाईमा प्राथमिकता दिन भनिएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्रमुख एवं उपसचिव मोतीप्रसाद भट्टराईले जानकारी दिए ।
नवनियुक्त शिक्षकलाई तत्काल आफ्नो पालिकामा रिक्त रहेका विद्यालयमा खटाउने तयारी गरेका छन् ।