बरहथवा, १७ चैत – सर्लाहीको हरिपुर नगरपालिका–१, हजारबिघामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
स्थानीय ४६ वर्षीय राजु भन्ने सोमबहादुर खपाङ्गी मगरको करेन्ट लागेर मृत्यु भएको हो । मगरलाई आफ्नै घरको भुुइँतलामा झुण्डिएको बिजुलीको नाङ्गो तारमा छुँदा करेन्ट लागेको स्थानीयले बताएका छन् ।
करेन्ट लागेर अचेत भएका मगरलाई उपचारका लागि हनुमन्ते अस्पताल बरहथवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गौतम थापाले जानकारी दिए । मृतकको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि परिवारले बुुझेका छन् ।
हरिपुर १ का वडाध्यक्ष नानीबाबु थापाका अनुसार करेन्ट लागेर मृत्युभएका मगर मुटु तथा क्षयरोगको बिरामी थिए ।