मलंगवा, १७ चैत – सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–९, बाल मन्दिरमा रहेको ताज होटलमा भारतीय महिलाको मृत्यु प्रकरणमा प्रहरीले एक पुरुषविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दायर गरेको छ ।
चैत १३ गते भारतको दिल्ली राज्य जिल्ला रोशनपुरा बस्ने प्रविनकी श्रीमती आरती भन्ने मृत फेला परेकी थिईन् । होटलको सिलिङ पंखामा झुण्डिएको अवस्थामा आरती मृत फेला परेकी थिईन् । प्रहरीले घटनाको अनुसन्धान गर्दै जँदा महिला झुण्डिएको होटलको कोठा हरिवन नगरपालिका १० बस्ने ३९ वर्षीय मो. सेराजको नाममा बुक रहेको पाइएको छ ।
उक्त रेकर्ड फेला परेपछि प्रहरीले सेराजलाई पक्राउ गरिसकेको छ । उनीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद दिएर अनुसन्धान अघि बढाइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए । राईका अनुसार मृतक महिलाको साथमा रहेको कागजातबाट अर्का एक युवकको पनि विवरण फेला परेकाले उनको समेत खोजी जारी राखिएको छ ।
युवक फरार रहेकाले प्रहरीले उनको नाम भने गोप्य राखेको छ । मृतक भारतीय महिलाको शव आज मात्रै प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमपछि माइती पक्षले आएर लगेका छन् । महिलाको घरपट्टीका मानिस भने सम्पर्कमै नआएका डिएसपी राईले बताए ।
स्थानीय वासिन्दाले मृतक महिला यौन व्यवसायमा संलग्न रहेको हुनसक्ने आशंका गरेका छन् । पछिल्लो समय सदरमुकाम मलंगवाका होटलमा भारतीय समेतको बाक्लो उपस्थितिमा अवैध यौन व्यवसाय फस्टाएको स्थानीय वासिन्दा बताउँछन् ।