logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सीमावर्ती गाउँमा १५ शैय्याको अस्पताल


  • उज्यालो अभियान

गोडैता, १५ चैत – सीमावर्ती क्षेत्रस्थित सर्लाहीको गोडैता नगरपालिका–३, सीमरा भगवतीपुरमा १५ शैय्याको नगर अस्पताल निर्माण कार्यलाई तीव्रता दिइएको छ ।

भारतीय सीमा नजिकै रहेको सीमरा भगवतीपुरमा नगर अस्पताल निर्माण गरी स्थानीयलाई सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य रहेको नगरप्रमुख देवेन्द्रकुमार यादवले बताए । १९ करोड ६३ लाख ४२ हजार ५९६ रुपियाँमा अस्पताल भवन निर्माण भइरहेको हो ।

स्थानीय रामदुलार राय यादवले सामान्य औषधि उपचारका लागि सदरमुकाम मलङ्गवा वा सीमापारी भारतीय बजार जानुपर्ने आफूहरु गाउँमै सुविधासम्पन्न अस्पताल निर्माण भइरहँदा खुसी रहेको बताए । अस्पताल निर्माण भएर सञ्चालन भएपछि गोडैता र छेउछाउमा रहेका अन्य पालिकाका वासिन्दालाई प्राथमिक स्वास्थ्य उपचार लिन टाढा जानुपर्ने बाध्यता अन्त्य हुने आशमा बसेको स्थानीय वासिन्दा यादवले बताएका छन् ।

जतिसक्दो चाँडो अस्पताल भवन निर्माण गरेर मेडिकल अधिकृत र अन्य आवश्यक स्वास्थ्यकर्मी नियुक्त गरी सेवा संचालन गर्ने तयारी रहेको गोडैता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादवले बताएका छन् । सर्लाहीको दक्षिणी बेल्टमा सामान्य स्वास्थ्य समस्या भएका बिरामीलाई स्थानीयस्तरमा अस्पतालको अभावका कारण प्रादेशिक अस्पताल मलङ्गवा वा भारतीय बजारसम्म लगेर उपचार गर्नुपर्ने बाध्यता छ ।

पूर्व पश्चिम हुुलाकी राजमार्गस्थित फूलपरासीमा केही समय अघिदेखि कौडेना गाउँपालिकाले १५ शैय्याको सामुदायिक अस्पताल संचालनमा ल्याएको छ । गोडैता नगरपालिकाले पनि निर्माणाधीन १५ शैय्याको नगर अस्पतालको काम पूरा गरी चिकित्सक नियुक्त गरेर स्थानीय वासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्ने तयारी गरेको हो ।

गोडैता नगरपालिकाकै वडा नं. १० सिसौटियामा सेवा प्रवाहका हिसाबले जिल्लाकै पहिलो स्थानमा रहेको सिसौटिया बर्थिङ सेन्टर रहेको छ । बर्थिङ सेन्टरलाई अझ व्यवस्थित बनाएर १५ शैय्याको नगर अस्पताल समेत सञ्चालन गर्ने योजना अनुसार धमाधम अस्पताल भवन निर्माण गरिरहेको नगरप्रमुख यादवले बताए ।