लालबन्दी, १४ चैत – सर्लाहीका किसानलाई आफूले उत्पादन गरेको गोलभेँडा बिक्री नभएर समस्या पर्न थालेको छ ।
यहाँका किसानले गोलभेँडा मुस्किलले प्रतिकेजी चारदेखि पाँच रुपियाँमा बेचिरहेका छन् । यो मुल्यमा गोलभेँडा बिक्री गर्दा टिप्ने मानिसको ज्याला र बजारसम्म ढुवानी गर्दा लाग्ने खर्चधरी नउठ्ने किसानको गुनासो छ ।
अघिल्ला वर्ष सुरुमा र अन्तिममा फलाएको गोलभेँडाले राम्रो मुल्य पाउने गरेको भएपनि यो वर्ष सिजनको अन्तिममा गोलभेँडाको भाऊ झनै खस्किएको किसानले बताएका छन् । लालबन्दी नगरपालिका–१०, हीरापुरका किसान रामदास रायले हाइब्रिड अर्थात् ठूलोखाले गोलभेँडा प्रतिक्रेट १०० देखि १५० रुपियाँ र लोकल अर्थात् सानोखाले गोलभेँडा प्रतिक्रेट १५० देखि २५० रुपियाँसम्ममा बिक्री भइरहेको बताए ।
किसानले गोलभेँडामा दिनहुँ महँगो कीटनाशक विषादी प्रयोग गर्नुपर्ने अवस्था रहेको गुनासो गरेका छन् । लालबन्दी थोक तरकारी बजारका व्यापारी मोहम्मद उस्मानले किसानबाट खरिद गरेको गोलभेँडा आफूहरुले ठूला सहर, बजारमा लगेर बिक्री गर्नै नसकेको बताए ।
अहिले जताततै गोलभेँडा उत्पादन भइरहेकाले बिक्री नहुने समस्या रहेको उनले बताए । तत्कालै बिक्री नभए नष्ट भएर जाने भएकाले यहाँका व्यापारी किसानसँग ठूलो परिमाणमा गोलभेँडा खरिद गर्न डराउने गरेका छन् ।
व्यापारीले गोलभेँडा खरिद नगर्दा कतिपय किसानको बारीमै गोलभेँडा नष्ट भएर गइरहेको छ । जिल्लाको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाका किसानले व्यावसायिकरुपमा उत्पादन गरेको गोलभेँडा काठमाडौंको कालिमाटी र बल्खुसहित विभिन्न छिमेकी जिल्लाका बजारमा खपत हुने गरेको छ ।