logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीमा पुनः धुलो, धुँवाको प्रदुषण बढ्दो


  • उज्यालो अभियान

मलंगवा, १४ चैत – सर्लाहीमा फेरि धुलो, धुँवाको प्रदुुषण अत्यधिक बढ्न थालेको छ ।

जिल्लामा गएको शनिबार र आइतबार बिहानपख पानी पर्दा तत्कालका लागि प्रदुषण घटेको थियो । तर, अहिले फेरि प्रदुुषण अत्यधिक बढ्दा स्थानीय प्रभावित बन्न थालेका छन् ।

कुहिरीमण्डल भएर धुलो, धुँवा फैलँदा श्वासप्रश्वास, घाँटी, आँखा र एलर्जी सम्वन्धी समस्या भएका व्यक्तिमा स्वास्थ्य समस्या देखिन थालेको चिकित्सकले बताएका छन् । जताततै धुलो उड्दा र आगो बाल्दा प्रदुुषण बढेको हो ।

पूर्व पश्चिम राजमार्ग विस्तार भइरहेकाले सर्लाहीको हाईवे क्षेत्रमा समेत अहिले यात्रु तथा सडक आसपास घर भएकाले धुलोको मार खेपिरहेका छन् । वन क्षेत्रमा फेरि डढेलो लाग्न सुरु भएको हाम्रा संवाददाताहरुले जनाएका छन् ।

५ दिनअघि पानी पर्दा यहाँको अधिकांश वन क्षेत्रमा लागेको डढेलो आफै नियन्त्रणमा आएको थियो । सुक्खापन र तापक्रम फेरि बढ्दै जान थालेपछि वन क्षेत्रमा पुनः डढेलो लाग्न सुरु भएको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ । सर्लाहीसहित तराई क्षेत्रमा क्रमिकरुपमा गर्मी बढ्दै गइरहेको छ ।

यहाँ दिउँसोपख हपक्क गर्मी हुन थालिसकेको छ भने बिहानपख केहीघण्टा चिसो हुने गरेको छ । गर्मी बढ्दै जाँदा सदरमुकाम मलंगवासहित बरहथवा, बयलवास, लालबन्दी, हरिवनलगायत बजार तथा औद्योगिक क्षेत्रमा लामखुुट्टेको प्रकोप बढेको स्थानीयले गुनासो गरेका छन् ।

चिकित्सकले यो समयमा मौसम परिवर्तनजन्य स्वास्थ्य समस्या बढ्ने भएकाले स्वास्थ्यको विशेष ख्याल गर्न सल्लाह दिएका छन् ।