लालबन्दी, ०९ चैत – सर्लाहीमा छ महिनापछि आज बिहान हावाहुरी, चट्याङसहित वर्षा भएको छ ।
यहाँ गत असोज दोस्रो सातापछि वर्षा हुन सकेको थिएन । छ महिनापछि सर्लाहीसहित आसपासका जिल्लामा आज बिहानपख अचानक मौसम बदली भएर असिना पानी परेको हो ।
चुरेभेग र दक्षिणवर्ती क्षेत्रको तुलनामा पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा एकझर राम्रैसँग वर्षा भएको स्थानीयले बताएका छन् । ईश्वरपुर नगरपालिका–९, रामनगरका सूर्यनारायण चौधरीले असिनासहित केहीबेर आकाशे वर्षा भएको जानकारी दिए । उनका अनुसार असिना पानीले करेसाको लसुन, प्याजसहित अन्य बालीनालीमा नोक्सान गरेको छ ।

छ महिनापछि आकाशे वर्षा हुँदा यस क्षेत्रमा तत्कालका लागि धुलो, धुँवाको प्रदुषण घटेको छ । वर्षाले वन क्षेत्रमा लागेको डढेलो निभाउन सहयोग पुगेको सर्लाहीका डिभिजन वन प्रमुख सन्तोषकुमार झाले बताए ।
एक सातादेखि फूलजोर, बाँके, सागरनाथ, लालबन्दी, मूर्तिया, जानकीनगरलगायत क्षेत्रमा लागेको डढेलो आज बिहानपख भएको वर्षाले तत्कालका लागि निभेको हो । वर्षासँगै परेको चट्याङले बागमती नगरपालिका–४, कोइरी टोलका सुनिता सिंहको घरमा सामान्य क्षति गरेको छ ।
चट्याङले बिजुलीको मिटर र केही कपडा जलेपनि मानवीय क्षति भने टरेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले बताए ।

असिनासहितको वर्षाले जिल्लाको हजारिया क्षेत्रमा भर्खरै सुत्का लागेको मकै बालीमा क्षति गरेको छ । असिना पानीले मकैको बोटमा व्यापक क्षति पु¥याएको बरहथवा नगरपालिका–२, हजरियाक महेश बरालले जानकारी दिए ।