परवानीपुर , ०८ चैत – सर्लाहीको लालबन्दी नगरपालिकाले व्यवसाय दर्ता तथा नवीकरणका लागि घरदैलो अभियान सुरु गरेको छ ।
नगरभित्रका स–साना व्यवसायीलाई समेत करको दायरामा ल्याउने मुख्य उद्देश्यसहित नगरपालिका कार्यालयले घरदैलोमै पुुगेर व्यवसाय दर्ता गराउने अभियान चलाएको हो । जनप्रतिनिधि र कर्मचारीले लालबन्दी नगरपालिका–१६, परवानिपुरमा तीन दिनसम्म परिचालन भएर प्रत्येक पसल, व्यवसायमा पुुगेर व्यवसाय दर्ता गराउने काम गरिरहनुुभएको छ ।
आजसम्म परवानिपुर क्षेत्रमा चलेको अभियान आइतबारदेखि लालबन्दी १७ स्थित रानिगन्ज क्षेत्रमा सञ्चालन हुने नगरपालिका कार्यालयले जनाएको छ । नगरपालिकाको राजस्व शाखाका प्रमुख गोपालबहादुर थापाले अहिलेसम्म दर्ता नभएका व्यवसायलाई घरदैलोमै दर्ता गराइदिने र यसअघि दर्ता भएर नवीकरण नगरिएकालाई समेत पसलमै नवीकरण गर्ने अवसर प्रदान गरिएको जानकारी दिए ।
उनका अनुसार ग्रामीण भेगका व्यवसायीलाई पसल, व्यवसायमै व्यवसाय दर्ताको प्रमाण–पत्र र शुल्क तिरेको रसिद प्रदान गर्ने गरिएको छ । क्रमशः नगरभित्रका १७ वटै वडामा यसैगरी व्यवसाय दर्ता घरदैलो अभियान सञ्चालन गरिने राजस्व शाखाका प्रमुख थापाले उज्यालो अभियानसँग बताए ।
जिल्लाको ग्रामीण भेगका अधिकांश पसल, व्यवसाय बिना दर्ता सञ्चालन हुने गरेका छन् । लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पनामाया पाख्रिनले जनप्रतिनिधि र कर्मचारी दैलोमा नै पुुगेर व्यवसाय दर्ता गरिदिँदा व्यवसायीलाई समेत सहजता प्रदान भएको बताएकी छन् ।
व्यवसाय दर्ताका लागि चलाइएको घरदैलो अभियानपछि नगरभित्रका सबै प्रकारका व्यवसायलाई कानूनी दाउरामा ल्याउने र आन्तरिक राजस्व वृद्धिमा योगदान पुुग्ने लालबन्दी नगरपालिकाको कार्यालयले जनाएको छ ।
लालबन्दी नगरपालिकाभित्र सबैभन्दा सानो व्यवसायलाई व्यवसाय दर्ताबापत दुुई हजारदेखि तीन करोडभन्दा माथिका व्यवसायलाई २५ हजार रुपियाँसम्म दर्ता शुल्क निर्धारण गरिएको छ ।