logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीमा भोली हुने स्ववियु निर्वाचनको तयारी पूरा


  • उज्यालो अभियान

लालबन्दी, ०४ चैत – सर्लाहीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी पूरा भएको छ ।

त्रभुवन विश्वविद्यालय मातहत रहेका जिल्लाको सर्लाही क्याम्पस मलङ्गवा, जनज्योति बहुमुखी क्याम्पस लालबन्दी र चतुुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा स्वतन्त्र विद्यार्थी युनियन चयनका लागि भोली बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान हुँदै छ । तीनवटै क्याम्पसको स्ववियु निर्वाचन समितिले भोली हुने मतदान र मतगणनाको तयारी पूरा भएको जनाएका हुन् ।

सर्लाही क्याम्पस मलङ्गवाका निर्वाचन अधिकृत कृपानाथ झाले भोलीको मतदानका लागि तयार अवस्थामा बसेको बताए । उनका अनुसार क्याम्पस परिसरभित्र चारवटा मतदान केन्द्र बनाइएको छ ।

स्ववियु निर्वाचन हुन लागेको जिल्लाका तीनवटा क्याम्पसमध्ये सर्लाही क्याम्पस मलङ्गवामा सबैभन्दा धेरै तीन हजार २४९ जना मतदाता रहेका छन् । स्ववियु निर्वाचनका लागि जनज्योति बहुमुखी क्याम्पस लालबन्दी र चतुुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा समान दुुई/दुईवटा मतदान केन्द्र बनाइएको छ ।

छात्र र छात्राका लागि बेग्लाबेग्लै लाइन बस्ने सुविधासहित प्रत्यक्ष र समानुपातिकको बेग्लाबेग्लै मतपेटिकामा मतदान गर्ने व्यवस्था मिलाइएको जनज्योति बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत शिवहरि नेपालले बताए । जनज्योतिमा एक हजार ८४ जना मतदाता रहेका छन् ।

चतुुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा ८२८ मतदाता रहेका निर्वाचन अधिकृत डा. हरिलाल मैनालीले बताए । स्ववियु निर्वाचनमा सम्वन्धित क्याम्पसको स्नातक तह (ब्याचलर्स) र स्नातकोत्तर तह (मास्र्टस्) मा अध्ययनरत् विद्यार्थीले मतदान गर्न पाउने छन् ।

सर्लाहीका तीनवटा क्याम्पसमध्ये सर्लाही क्याम्पस मलङ्गवामा तीनवटा सङ्गठन एवं समूह, जनज्योति बहुमुखी क्याम्पस लालबन्दी र चतुुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा दुुई/दुईवटा विद्यार्थी सङ्गठन प्रतिस्पर्धामा रहेका छन् ।

स्ववियुको निर्वाचनमा आफ्नो दल निकट विद्यार्थी सङ्गठनलाई जिताउन जिल्लास्थित शिर्षस्त नेता र जनप्रतिनिधि समेत लागिपरेका छन् । प्रतिस्पर्धी विद्यार्थी घरदैलोमै पुुगेर मत मागिरहेका छन् ।

यसै वर्षदेखि स्ववियु निर्वाचन गराउने मान्यता पाएको बागमतीस्थित कर्मैया आर्दश बहुमुखी क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।