logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीमा एसइईको तीव्र तयारी : सबै परीक्षा केन्द्रमा पुग्यो उत्तरपुस्तिका


  • उज्यालो अभियान

फाइल तस्बीर ।

मलंगवा, ०३ चैत – यही चैत ७ गतेबाट संचालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) लागि सर्लाहीका सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पुर्याइएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ मलंगवाका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाले एसइई संचालनका लागि जिल्लाका ३८ वटै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पुर्याइसकिएको उज्यालो अभियानलाई जानकारी दिए । भोली सोमबार नजिकका प्रहरी चौकीमा प्रश्नपत्र लगेर राखिने शिक्षा विकास तथा समन्वय इकाइ मलंगवाले जनाएको छ ।

परीक्षाको दिन केही घण्टाअघि मात्रै परीक्षा केन्द्रमा प्रश्नपत्र लगिने छ । सर्लाहीमा एसइई संचालनका लागि गत वर्षकै संख्यामा अर्थात् ३८ वटा परीक्षा केन्द्र निर्धारण गरिए पनि एउटा परीक्षा केन्द्र परिवर्तन गरिएको छ ।

बागमती नगरपालिका–१, मिलनचोकस्थित जनता माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्र हटाएर गोडैता नगरपालिका–१०, सिसौटियास्थित नारायणहरि माध्यमिक विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ । मिलनचोकको विद्यालयमा विद्यार्थी न्यून भएपछि गत वर्ष त्यहाँ परीक्षा केन्द्र परेका केही विद्यालयको श्री ५ महेन्द्र जनता माध्यमिक विद्यालय बागमती र केही विद्यालयको चतुर्भूजेश्वर जनता माध्यमिक विद्यालय सुखेपोखरीमा परीक्षा केन्द्र कायम गरिएको शिक्षा विकास तथा समन्वय इकाइ मलंगवाका प्राविधिक सहायक कुशवाहाले उज्यालो अभियानसँग बताए ।

कुशवाहाका अनुसार जिल्लामा एसइई संचालनका लागि केन्द्राध्यक्ष तोक्न बाँकी छ । संघबाट सम्वन्धित विद्यालयकै प्रधानाध्यापकलाई तथा प्रदेशबाट जिल्लाभरका माध्यमिक शिक्षकमध्येबाट गोलाप्रथाबाट केन्द्राध्यक्ष छनौट गर्ने भनी दुई प्रकारको निर्देशन आएको र अब भोली सोमबार नयाँ सरुवा भएर आउन लागेका इकाइ प्रमुख उपसचिव मोतीप्रसाद भट्टराई हाजिर भएपछि केन्द्राध्यक्षबारे निर्णय गरिने बताइएको छ ।

एसइईकै मुखमा इकाइ प्रमुख एवं उपसचिव तारापति खरेल केही दिनअघि मात्रै सरुवा भएर गएका छन् । एसइई संचालनका लागि केन्द्राध्यक्ष छनौट गरेर पर्सी मंगलबार अभिमुखीकरण प्रदान गर्ने तयारी रहेको प्राविधिक सहायक कुशवाहाले बताए ।

सर्लाहीबाट यो वर्षको एसइईमा १२ हजार ३४ जना परीक्षार्थी सामेल हुँदै छन् ।