logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

महायज्ञमा सहयोग जुट्नेक्रम जारी


  • उज्यालो अभियान

हरिवन, २८ फागुन – सर्लाहीको हरिवन नगरपालिका ९ दनुवारीमा अधुरो अवस्थामा रहेको मानवसेवा आश्रमको भवन निर्माणमा चाहिने रकम जुटाउने उद्देश्यले आयोजित श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा सहयोग जुट्नेक्रम चलिरहेको छ ।

मानवसेवा आश्रम आफैले हरिवन ११ स्थित सुर्ती विकास खेल मैदानमा महायज्ञ लगाइरहेको हो । महायज्ञमा हिजो दिनभर विभिन्न पालिका तथा वडा कार्यालय, सामाजिक संघसंस्था र व्यक्तिले सहयोग प्रदान गरेका छन् ।

सोहीक्रममा लालबन्दी नगरपालिकाले मानवसेवा आश्रमको एउटा कोठा निर्माण गर्न आवश्यक पर्ने ५ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेको छ । नगर उपप्रमुख कल्पनामाया पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, विपद् व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र खतिवडालगायत महायज्ञस्थलमा पुुगेर सहयोग रकम हस्तान्तरण गरेका छन् ।

यस्तै हरिवन नगरपालिका १ र ९ को वडा कार्यालयले पनि ५ लाख ११ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरेका छन् । हरिवन १ का वडाध्यक्ष टमबहादुर घिसिङ र हरिवन ३ का वडाध्यक्ष दीपमान लोप्चनले रकम प्रदान गरेका छन् ।

अमेरिकाको क्लोराडो निवासी नेपालीको तर्फबाट ७५ हजार रुपैयाँ सहयोग प्राप्त भएको मानवसेवा आश्रमले जनाएको छ । महायज्ञमा हरिवन नगरपालिका १० सुखेपोखरी निवासी हरिवन नगरपालिकाका निवर्तमान नगरप्रमुख गणेश प्रसाद प्रसाई र उहाँकी धर्मपत्नी सुनिता प्रसाईले व्यक्तिगत तर्फबाट २५ हजार रुपैयाँ प्रदान गरेका छन् ।

बागमती नगरपालिका ४ निवासी हरिपुर नगरपालिकाका शिक्षा अधिकृत नागेश्वर रायले १५ हजार १०५ रुपैयाँ र हरिवन नगरपालिका ५ घुर्कौली निवासी सतन कुमार महतोले १५ हजार १०० रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

यसरी व्यक्ति, संस्था तथा कार्यालयबाट निरन्तर सहयोग प्राप्त भइरहेको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।

महायज्ञ भोली २९ गतेसम्म संचालन हुने छ ।