हरिवन, २७ फागुन – मानवसेवा आश्रमले सर्लाही शाखाको भवन निर्माण गर्ने उद्देश्यले हरिवनमा सञ्चालन गरेको महायज्ञमा वडा कार्यालयहरू तथा अन्य नगरपालिकाहरूले प्रतिबद्धता जनाउने क्रम जारी रहेको छ ।
हरिवन नगरपालिका ३ नं. वडा कार्यालयले मानवसेवा आश्रम सर्लाही शाखाको निर्माणाधीन भवनको एक कोठा निर्माण गर्ने भएको छ । आज महायज्ञमा सहभागी हुँदै हरिवन नगरपालिका ३ नम्बर वडा कार्यालयका वडाअध्यक्ष दीपमान लोप्चनले सर्लाही शाखाको एक कोठा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सोही अनुसार वडा कार्यालयले एक कोठा निर्माणका लागि ५ लाख ११ हजार १ सय ११ रूपैयाँ योगदान गर्नुपर्नेछ । साथै वडाध्यक्ष लोप्चनले सर्लाही शाखाको भवन निर्माणका लागि सबैलाई आफ्नो तर्फबाट सहयोग गर्न अनुरोध समेत गरे ।
महायज्ञमा व्यक्तिगत तथा संस्थागतरुपमा अन्य दिन जस्तै आज पनि सहयोग प्राप्त भएको महायज्ञ मूल आयोजक समितिले जनाएको छ । आश्रमले सर्लाही शाखाको भवन (मानवीय स्मारक) निर्माण सम्पन्न गरी सहयोगापेक्षी सडकआश्रित मानवहरुको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको हो ।
हरिवन नगरपालिका–११ स्थित सुर्तिविकास खेल मैदानमा फागुन २२ गतेदेखि सुरू भएको महायज्ञ फागुन २९ गतेसम्म सञ्चालन हुनेछ ।