लालबन्दी, १८ फागुन – सर्लाहीसहित तराई क्षेत्रमा दिउँसोपख सुक्खा हावा चल्न थालेको छ ।
आजबाट मौसम बद्ली भएर दिनभर सुक्खा हावा चल्नेयाम सुरु भएको हो । धुुलोसहित हावा चल्न थालेपछि बाहिर निस्किएर यात्रा गर्नुपर्नेहरु प्रभावित हुन थालेका छन् । बाहिर निक्कदा धुलोले आँखा पोल्ने, घाँटी क्याप्प हुने जस्ता स्वास्थ्य समस्या देखिन सुरु भएको छ ।
चिकित्सकले आजदेखि चल्न सुरु भएको हावा अत्यन्त दुुषित रहेकाले ख्याल गर्न आग्रह गरेका छन् । अहिले चल्ने हावामा धुलोको कण अत्यधिक हुने भएकाले स्वास्थ्यमा समस्या गर्ने चिकित्सकको भनाई छ । डा. देवेन्द्र यादवले एक झर राम्रोसँग पानी नपरुन्जेल अहिले बढेका ज्वरो, रुघाखोकी जस्ता मौसमी संक्रमणमा बिरामी कम नहुने बताएका छन् ।
चिकित्सकले अहिले बाहिर अत्यन्त प्रदुषण रहेकाले मास्क लगाएर हिँड्न र धुलो, धुँवाबाट जोगिने उपाय अपनाउन सुुझाव दिएका छन् । यो वर्ष सर्लाहीसहित तराई क्षेत्रमा हिउँदे वर्षा हुनै सकेको छैन् ।
पानी पर्न नसक्दा जताजतै सुक्खापन बढिरहेको छ । हावा समेत चल्न सुरु भएपछि अब आगलागी र वन क्षेत्रमा डढेलोको जोखिम बढ्न थालेको छ ।