गाडीको ठक्करबाट मरेको निलगाई । (तस्बीर : उज्यालो अभियान)
नवलपुर, १८ फागुन – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा आज बिहान गाडीको ठक्करबाट एउटा निलगाई मरेको छ ।
लालबन्दी नगरपालिका–९, स्थित डिभिजन वन कार्यालय नजिक नवलपुरबाट लालबन्दीतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२२ च ३७४९ नम्वरको कारमा ठोक्किँदा निलगाई मरेको हो । निलगाईसँग ठोक्किँदा कारको अगाडिपट्टीको भाग कुच्चिएको छ ।

निलगाईसँग ठोक्किएर कुच्चिएको कार । (तस्बीर : उज्यालो अभियान)
आज बिहान ९ बजेतिर भएको दुर्घटनापछि कार चालक सम्पर्कविहीन भएका छन् । कारको ठक्करबाट मरेको निलगाई र दुर्घटनामा परेको कार डिभिजन वन कार्यालयमा ल्याएर राखिएको कार्यालयका वन अधिकृत सागर बस्यालले जानकारी दिए ।
वन अधिकृत बस्यालका अनुसार बयस्क हुनेक्रममा रहेको निलगाई कारको ठक्करबाट घटनास्थलमै मरेको हो । कार चालक सम्पर्कमा आएपछि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार कारवाही चलाइने डिभिजन वन कार्यालयका वन अधिकृत बस्यालले उज्यालो अभियानसँग बताए ।
डिभिजन वन कार्यालय आसपास उष्ण प्रदेशीय बागवानी केन्द्रभित्र ठूलो सङ्ख्यामा निलगाई अर्थात् घोडगधा देखा पर्ने गरेका छन् ।