चिताइन, १७ फागुन – सर्लाहीको हरिपुर नगरपालिका ७ चिताइनमा जारी अन्तर प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधिका लागि भैरवीदल गण पाँचकुमारी ब्यारेक सर्लाही र महोत्तरीको करुणाले खेल्ने भएका छन् ।
आज सम्पन्न सेमिफाइनल खेलमा नेपाली सेनाको भैरवीदल गणले धनुुषाको मिथिला बिहारी नगरपालिका र महोत्तरीले सर्लाहीको बडकुर्वालाई पराजित गर्दै फाइनलमा भेट पक्का गरेका हुन् ।
पहिलो सेमिफाइनल खेलमा भैरवीदल गणले धनुुषालाई २५–१७, २५–२१ र २५–२० को सोझो सेटमा पराजित गर्यो भने दोस्रो सेमिफाइनल खेलमा महोत्तरीले सर्लाहीको बडकुुर्वालाई २५–२१, २५–२३ र २५–१८ को सोझो सेटमा पराजित गरेको आयोजकका चेतनारायण धामीले जानकारी दिए । उनका अनुसार भैरवीदल गण र महोत्तरीबिच भोली उपाधि भिडन्त हुने छ ।
यस्तै महिलातर्फको सेमिफाइनल र फाइनल खेल पनि भोली नै हुने छ । महिला भलिबलमा सर्लाही, महोत्तरी, बारा र सप्तरीले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा पुरुषतर्फको बिजेताले १ लाख र उपबिजेताले ५० हजार तथा महिला तर्फको बिजेताले १५ हजार र उपबिजेताले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक लक्ष्मीनाथ युवा क्लब चिताइनका अध्यक्ष नरहरि धामीले बताए ।