logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

गाडीले किचेर हरिवनमा एक जनाको मृत्यु, गाडी पहिचान हुन सकेन


  • उज्यालो अभियान

हरिवन, १५ फागुन – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा गाडीले किचेर एक जनाको मृत्यु भएको छ ।

हरिवन नगरपालिका–११, स्थित चिनी मिल जाने गेटदेखि १०० मिटर पश्चिमतर्फ हालसम्म पहिचान हुन नसकेको गाडीले किचेर मलङ्गवा नगरपालिका–५, घर भइ हरिवन नगरपालिका–४, तीनघरेस्थित ‘टाइम वार्टर’ नामक पानी फ्याक्ट्रीमा कार्यरत ४५ वर्षीय बुधेश सहनीको मृत्यु भएको हो । आज बिहान २ः३० बजे इलाका प्रहरी कार्यालय हरिवनको मोवाइल गस्ती टोलीले बेवारिसे पुरुष दुवै तीघ्राभन्दा मुनिको भाग गाडीले किचेर पूर्णरुपमा छेदबिछेद भइ अचेत अवस्थामा रहेको फेला पारेको थियो । ती पुरुषलाई तत्कालै नमूना अस्पताल हरिवन पुु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

सोजखोज गर्दै जाँदा आज बिहान १० बजेतिर मात्रै मृतकको सनाखत भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए । इन्स्पेक्टर तामाङले दुर्घटनामा संलग्न सवारी पत्ता लगाउन राजमार्ग क्षेत्रका सीसी टिभी फूटेजको अनुसन्धान जारी रहेको बताए । उनका अनुसार बुधेश सहनीलाई किच्ने सवारीको पहिचान हुने आधार प्रहरीले फेला पारिसकेको छ ।

दुर्घटना गएराति ११ बजेदेखि बिहान २ बजेको बिचमा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटनापछि मृतक पक्षका मानिसले दुर्घटनामा संलग्न सवारीलाई तुरुन्त नियन्त्रणमा लिन माग गर्दै आज दिउँसो पूर्व पश्चिम राजमार्ग अन्तर्गत तीनघरेस्थित लच्कामा टायर बालेर प्रदर्शन गरेका छन् ।

उनीहरुलाई सम्झाइबुुझाइ गरी मृतक सहनीको शव पोष्टमार्टमका लागि आज साँझ प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको प्रहरी निरीक्षक तामाङले बताएका छन् ।