logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हाइसलाई टिपरले ठक्कर दिँदा दुई जना घाइते


  • उज्यालो अभियान

लालबन्दी, १४ फागुन – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–९, स्थित डिभिजन वन कार्यालय नजिक आज टिपरले हाइसलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

नवलपुरबाट लालबन्दीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३५९१ नम्वरको हाइसलाई ना ७ ख ३२१७ नम्वरको टिपरले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ । टिपरले ठक्कर दिएपछि हाइसले अगाडि रहेको प्रदेश २ ०२ ००२ प ७८०७ नम्वरको मोटरसाइकललाई समेत ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । हाइस ठोक्किँदा मोटरसाइकलमा सामान्य क्षति पुगेपनि चालक सकुशल रहेका प्रहरीले जनायो ।

टिपरले पछाडिबाट ठक्कर दिँदा हाइसमा सवार बागमती नगरपालिका–९, नयाँबस्तीका १९ वर्षीय प्रेमबहादुर रुम्बाको टाउकोको दाहिने भाग र दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते रुम्बालाई मोडेल अस्पताल लालबन्दीमा सामान्य उपचारपछि सिटी स्क्यानका लागि आज दिउँसो काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते बरहथवा नगरपालिका निवासी दीपक गाहाका छोरी अन्दाजी तीन वर्षीया दृष्णा गाहा टाउकोमा चोट लागेर सामान्य घाइते भएकोमा उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । टिपरले ठक्कर दिँदा हाइसको पछाडिपट्टीको भागमा क्षति पुगेको छ ।

हाइस, टिपर र मोटरसाइकल तीनवटै सवारी तथा टिपर र हाइसका चालक लालबन्दी प्रहरीको नियन्त्रणमा रहेका छन् ।