logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

स्रोत नखुलेको साँढे सात लाखसहित भारतीय युवक पक्राउ


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, १३ फागुन – सर्लाही प्रहरीले स्रोत नखुलेको नेपाली साँढे सात लाख रुपियाँसहित आज दिउँसो एक भारतीय युवकलाई पक्राउ गरेको छ ।

नेपाल–भारत सीमा दशगजा नजिक मलङ्गवा नगरपालिका–८, स्थित प्रहरी चौकी गोरखकाली अगाडि चेकजाँचका क्रममा भारतको बिहार राज्य जिल्ला सितामढी ग्राम पन्चायत बिसनपुर १५ बस्ने २२ वर्षीय चन्दनकुमार महतोलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको हो । मलङ्गवा–सोनवर्षा नाका हुँदै बीआर ३० ए बी ९१८३ नम्वरको मोटरसाइकलमा नेपाल प्रवेश गरेका महतोको शरीर खानतलासी लिँदा पाइन्टभित्र लुकाएर ल्याएको ७ लाख ५८ हजार ३१० रुपियाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईले जानकारी दिए ।

प्रहरीले भारतीय युवक महतोलाई थप अनुसन्धानका लागि भन्सार कार्यालय मलङ्गवाको जिम्मा लगाएको छ । युवकको साथबाट बरामद भएको स्रोत खुल्न नसकेको रकम अवैध हुण्डी कारोवारमा प्रयोग गर्नका लागि बोकेर हिँडेको हुनसक्ने प्रहरीको आशङ्का रहेको छ ।