बयलवास, ११ फागुन – भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा स्नानका लागि जाँदा सवारी दुर्घटनामा परेर ज्यान गुमाएका पूर्व प्रधानाध्यापक विन्देश्वर सिंहको आज अन्त्येष्टि गरिएको छ ।
सिंहको आज बयलवासस्थित फूलजोर खोलाको घाटमा अन्त्येष्टि गरिएको हो । सरस्वती माध्यमिक विद्यालय ईश्वरपुर ३ भक्तिपुरका पूर्व प्रधानाध्याक सिंहको भैरहवा नाका भएर महाकुम्भ स्नानका लागि जानेक्रममा सवारी दुर्घटनामा परेर ज्यान गएको थियो ।
सिंहको शव गएसाँझ ईश्वरपुर ७ पोखरी टोलस्थित निवासमा ल्याएर आज फूलजोर खोलामा अन्त्येष्टि गरिएको हो । नेपाली कांग्रेसका नेता समेत रहेका सिंहको पार्थिव शरीरमा मधेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर राय, पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, नेपाली कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति हरिबहादुर लुंगेलीलगायतले पार्टीको झण्डा ओढाएर श्रद्धान्जली व्यक्त गरेका छन् ।