मृतकको सम्झनामा मलंगवामा गरिएको दीप प्रज्वलन । (तस्बीर : उज्यालो अभियान)
मलंगवा – पोखरामा आइतबार यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धान्जली व्यक्त गर्दै सोमबार साँझ लालबन्दी, हरिवन र मलंगवामा दीप प्रज्वलन गरिएको छ ।
सदरमुकाम मलंगवास्थित शहीद चोकमा आयोजित दीप प्रज्वलन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, उपप्रमुख जितेन्द्रकुमार महतो, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, सुरक्षा निकायका प्रमुख, मानव अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि, स्थानीयवासीलगायतको उपस्थिति रहेको थियो । यस्तै, लालबन्दीमा भएको दीप प्रज्वलनमा लालबन्दी ७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल), लालबन्दी ९ का वडाध्यक्ष नारायण अधिकारी र स्थानीय युवाहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी, हरिवन चोकमा रेडक्रस जेसिआई हरिवन र यूथ रेडक्रस सोसाइटी हरिवनको आयोजनामा दीप प्रज्वलन गरिएको छ । कार्यक्रममा जेसिज जेसिआई हरिवनका अध्यक्ष विनोद महत, यूथ रेडक्रस सोसाइटी हरिवनका सभापति ईश्वर धमला, नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्की, जिल्ला प्रशासन कार्यालय मलंगवाका प्रशासकीय अधिकृत राजकुमार थापा, हरिवन ११ का वडाध्यक्ष शेष मेहबुब रेजा, बागमती सेवा समाजका अध्यक्ष भरतकुमार कार्की लगायतको उपस्थिति रहेको थियो ।