लालबन्दी – निरन्तरको शितलहर र बाक्लो हुस्सुका कारण सर्लाहीमा आज (शुक्रबार) पनि अत्यन्तै कठ्यांग्रिदो चिसो छ ।
बाहिर हिँडडुल गर्दा भिज्ने गरी नै शितलहर चलिरहेको छ भने बाक्लो हुस्सुले नजिकैको दृश्य समेत देख्न मुस्किल छ । यस क्षेत्रमा हिजो दिउँसोपख धेरै दिनपछि पारिलो घाम लागेको थियो । तर, साँझबाट पुनः शितलहर र बाक्लो हुस्सु सुरु भएको हो । यस्तो समयमा सकेसम्म घरबाहिर ननिस्कन चिकित्सकले सुझाव दिएका छन् ।
बाक्लो हुस्सुका कारण सडकमा सवारी साधनहरु बत्ती बालेर गुडिरहेका छन् । चिसो छल्न मानिसहरु घर तथा चोक, बजारमा आगो बालेर तापिरहेका छन् । न्यानो कपडा नभएका गरिब गुरुवा यो समयमा कठ्यांग्रिएर बसिरहेका छन् । दिउँसोपख मौसम केही हुने पनि साँझ–बिहान र रातको समयमा असाध्य ठिही छ ।
सर्लाहीसहित मधेश क्षेत्रमा शितलहर चल्न थालेको २ साता भइसकेको छ । चिसोले जनजीवन आक्रान्त बन्दा पनि स्थानीय तहहरुले न्यानो प्रदान गर्नका लागि कुनै पहल कद्मी चालेका छैनन् ।
केही पालिकाले चोक, बजारमा सिमित मात्रामा दाउरा बाँडेका छन् । तर, जो पीडित र चिसोबाट प्रभावित छन उनीहरु समक्ष दाउराधरी पुग्न सकेको छैन् ।