सर्लाहीको बागमतीस्थित एक क्रस उद्योग ।
बागमती – गृह मन्त्रालयको निर्देशनपछि मापदण्डविपरीत संचालित सर्लाहीका आठवटा क्रसर उद्योग बन्द गराइएको छ ।
ती आठमध्ये पाँचवटा उद्योग बागमती नगरपालिकाभित्रका रहेका छन् । मन्त्रालयले मापदण्ड मिचेर संचालनमा रहेका क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र तत्काल बन्द गराउन निर्देशन दिएपछि पहिलो चरणमा दर्ताबिनै संचालित आठवटा क्रसर उद्योग बन्द गराइएको हो ।
बन्द गरिएका क्रसर उद्योगहरुमा हरिओम एग्रिगेट इन्डष्ट्रीज बागमती, एलिट एग्रिगेट प्रा.लि. बागमती, गौतम गिटी बालुवा प्रशोधन एण्ड क्रसर उद्योग बरहथवा, हजरिया बालुवा गिटी प्रशोधन कम्पनि प्रा.लि. बरहथवा लगायत रहेका छन् । घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीमा २० वटा क्रसर उद्योग दर्ता छन् । तीमध्ये धेरै उद्योगले नवीकरण पनि नगराएको पाइएको छ ।
क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्रको अनुगमन गर्न हिजो भर्खर सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति नै गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीको संयोजकत्वमा गठित सो समितिको अनुगमन प्रतिवेदनको आधारमा मापदण्ड मिचेर चलाइएका यहाँका अन्य क्रसर उद्योगहरु पनि बन्द गराइने सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले उज्यालो अभियानसँग बताए ।
जिल्लामा अधिकांश क्रसर उद्योग मानव बस्ती, वन जङ्गल र मुख्य राजमार्ग नजिकै संचालित छन् । ती क्रसर उद्योगले नजिकका खोलाबाट अवैध रुपमा उत्खनन गर्ने गरेको गुनासो बारम्बार आउने गरेको छ ।