File Picture
लालबन्दी – सर्लाहीमा मंगलबारको दिन घाम देखा नपरी बितेको छ ।
दिनभर बाक्लो हुस्सु लागेर शितलहर चलेरै बितेको हो । चिसो स्याँठ जारी नै छ ।
घाम नलाग्दा यहाँका वासिन्दाले मंगलबार दिनभर कठ्यांग्रिदो चिसो महशुस गरे । अहिले साँझमा पनि अत्यन्तै कठ्यांग्रिदो चिसो नै छ ।
घरबाहिर निस्कनु पर्नेहरु भिज्ने नै गरी शितलहर चलिहेको छ । यस क्षेत्रमा सोमबार दिउँसोपख केही घण्टा पारिलो घाम लागेको थियो ।
तर, मंगलबार भने मौसम उघ्रिनै सकेन । कठ्यांग्रिदो चिसोले गरिब गुरुवा परिवारका मानिस निकै प्रभावित भइरहेका छन् ।
चिसोले मजदुर तथा किसान अनि पशुपंक्षी कठ्यांग्रिरहेका छन् । विगत १ सातादेखि यस क्षेत्रमा निकै कठ्यांग्रिदो चिसो भइरहेको हो ।
चिसो छल्न मानिसहरु घर तथा चोक बजारमा आगो बालेर तापिरहेका छन् । तर, आगो बाल्न सबै ठाउँमा दाउरा उपलब्ध छैन् ।
दक्षिणी भेगका नागरिक परालको घुर बालेर तापिरहेका छन् । बिहान–बेलुकाको शितलहर र हुस्सुले अत्यावश्यक काम परेर बाहिर निस्कनुपर्नेहरुलाई अप्ठेरो पारिरहेको छ ।
धेरै परिवारमा बिहान बेलुकाको छाक टार्न मुस्किल छ भने शरीर ढाक्ने न्यानो कपडा र ओढनेओछयाउने छैन् । पराल ओछ्याएर सुत्नुपर्छ । त्यस्ता परिवार यो चिसोमा लगलग कामेरै बसिरहेका छन् ।
बाक्लो हुस्सु लागेको बेला यात्रा गर्दा जोखिम हुने भएकाले सावधानी अपनाउन यात्रु तथा सवारी चालकलाई ट्राफिक प्रहरीले सचेत रहन आग्रह गरेको छ । त्यस्तै, चिसो गढ्दा स्वास्थ्यमा जटिलता आउने भएकाले ख्याल गर्न चिकित्सकहरुले बारम्बार सुझाव दिइरहेका छन् ।