मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा मेयरको घरमा पहिलो डोजर चलाएर सडकको अतिक्रमण खाली गर्न सुरु गरिएको छ ।
स्थानीयले सडकको १५ मिटरभित्र पर्ने घर तथा अन्य संरचना भत्काउन आनाकानी गर्दा लामो समयदेखि सडक विस्तार तथा निर्माणको काम ठप्प रहेको थियो । मंगलबार दिउँसो मेयर नागेन्द्रप्रसाद यादवकै घरमा डोजर चलाइ सडकभित्र पर्ने संरचना भत्काइएको हो ।
मलंगवास्थित जिल्ला समन्वय समिति (साबिक जिविस) चोकदेखि बसपार्कसम्मको सडक यसअघि नै १५ मिटर कायम गरी ढलान गरिसकिएको छ । तर, त्यहाँदेखि अगाडि भने घर भत्काउनेक्रममा विवाद हुँदा काम रोकिएको थियो ।
मेयर यादवले कृष्णामति माध्यमिक विद्यालयदेखि नेपाल बैङ्क, पुरानो भन्सार कार्यालय हुँदै राजश्री सिनेमा हलसम्मको सडकमा पर्ने घर तथा अन्य संरचना भत्काउन दुईवटा डोजर प्रयोग गरिएको उज्यालो अभियानसँग बताए । घर भत्काउन डोजर लगाइएपछि स्थानीयबाट हुन सक्ने अवरोधलाई मध्यनजर गरी ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
सडकको ‘साइड क्लियर’ भएपश्चात ठेकेदारमार्फत सडक निर्माणको काम अघि बढाइने मेयर यादवले बताए । उनले मंगलबार दिउँसो नगरपालिका कार्यालयमा पत्रकार सम्मेलन नै आयोजना गरी सडक निर्माणको कार्यमा सहयोग गरिदिन सबैसँग आग्रह समेत गरे ।
सदरमुकाम अनि त्यसमाथि जिल्लाकै निकै पुरानो र पहिलो नगरपालिका भएर पनि मलंगवाको सडक, नालालगायत अन्य क्षेत्रमा विकास हुन नसकेको भन्दै आलोचना हुने गरेको छ । जिविस चोकदेखि बसपार्कसम्मको सडक निर्माण पूरा हुँदा आवतजावतमा केही सहजता भएको छ ।
तर, त्यहाँ भन्दा अगाडिदेखि भने सडक अत्यन्तै साँघुरो र त्यसमा पनि सडकमै फुटपाथ पसल राख्दा पैदल यात्रुलाई हिँड्डुल गर्न र सवारी चालकलाई सवारी संचालन गर्न अप्ठेरो हुँदै आएको छ ।
्मलंगवामा डोजर लगाएर सडकभित्रको संरचना भत्काइँदै । (तस्बीर : उज्यालो अभियान)