फाइल तस्बीर ।
लालबन्दी – सर्लाहीको नारायण खोलामा आज (मंगलबार) पनि सुरक्षाकर्मीले ठूलो क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेका छन् ।
आज तेस्रो दिन सशस्त्र प्रहरी समेतको उपस्थितिमा लालबन्दी नगरपालिका १४ स्थित नारायण खोलामा तयार हुनै लागेको गाँजा खेती नष्ट गरिएको हो । नारायण खोला, बतासे डाँडा, मटरदोभानलगायतको स्थानमा १३ बिघा क्षेत्रफलमा लगाइएको गाँजा फाँडेर आगो लगाई नष्ट गरिएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीको सुरक्षा बेस हरिवनबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील श्रेष्ठको कमाण्डमा १० जना, सशस्त्र प्रहरी बल नेपाल नं. १० गण सर्लाहीबाट सशस्त्र प्रहरी निरीक्षक होमनाथ नेपालको कमाण्डमा ३१ जना र इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक शान्तराम कार्कीको कमाण्डमा पुगेको प्रहरी टोलीले १३ बिघाको गाँजा खेती फडानी गरेको हो ।
यसअघि आइतबार ८ बिघा र सोमबार ९ बिघामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको थियो ।