मलंगवा – सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) थानेश्वर गौतमले नागरिकलाई महशुस हुने गरी सहज सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।
मंगलबार जिल्लाका सुरक्षा निकायका प्रमुख र भारतसँग सीमा जोडिएका विभिन्न प्रहरी इकाइका प्रमुखहरुको बैठक आयोजना गरी सीडीओ गौतमले खुल्ला सीमानाकाबाट हुन सक्ने अवैध तस्करी, राजस्व छली रोकथाम तथा नियन्त्रण गर्न कडाईका साथ परिचालन हुन तथा नागरिकलाई महशुस हुने गरी सेवा प्रदान गर्न निर्देशन दिएका हुन् । सीडीओ गौतमले नागरिकप्रति असल व्यवहार गर्न, नागरिकको गुनासो र समस्यालाई उच्च प्राथमिकतामा राखी सेवा दिन, सबै सुरक्षा निकायबीच समन्वयात्मक रुपमा कार्य गर्न र भ्रष्टाचार विरुद्ध शुन्य शहनशीलताको नीति लिई कार्य गर्न निर्देशन दिएको बुझिएको छ ।
उनले नेपाल सरकारका नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेले भर्चुअल बैठकमा दिनुभएको निर्देशन कार्यान्वयका सन्दर्भमा सुरक्षा निकायका प्रमुख र बोर्डरमा रहेका प्रहरी युनिटका इन्चार्जहरुसँग छलफल गरेका हुन् ।
बैठकमा भर्खरै जिल्लामा सरुवा भएर आएका प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, जिल्ला प्रहरी कार्यालय मलंगवामा कार्यरत डीएसपी द्वोय विजय श्रेष्ठ र विजय यादवलगायतको उपस्थिति रहेको थियो ।