बलरा – सर्लाहीको बलरा नगरपालिका–६, मिर्जापुर दलित बस्तीका एक जना आगलागी पीडितलाई नगरपालिकाले सहयोग गरेको छ ।
गएको शनिबार बिहान चिसो छल्न बालेको आगोबाट घर जलेर नष्ट भएको जियालाल हजारीको परिवारलाई नगरपालिकाले राहत प्रदान गरेको हो । आगलागीमा परेर हजारीको घर, घरभित्र रहेको अन्न, कपडासहित सम्पूर्ण सरसामग्री नष्ट भएको थियो ।
अग्नी पीडित हजारी परिवारलाई बलराका मेयर रामाशंकर प्रसाद कुशवाहाले घटनास्थलमा पुगेर ५० केजी चामल, ५ केजी दाल, ३ लिटर तेल, कम्बललगायतका सामग्री प्रदान गरेका हुन् । पीडितको अवस्था अत्यन्तै दयनिय रहेकाले केही दिनमै भाँडा, ग्याँस, त्रिपाल लगायतका सामग्री सहयोग गर्ने बलरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश महतोले बताए ।