मूर्तिया – सर्लाहीका गुरुङ समुदायले पनि शुक्रबार पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ पर्व मनाएका छन् ।
‘ल्हो’ को अर्थ बर्ष र ‘सार’ को अर्थ फेरिनु रहेको धार्मिक मान्यता छ । सर्लाहीमा थोरै संख्यामा रहेका गुरुङ समुदायले बरहथवा नगरपालिका–९, मूर्तियास्थित गुरुङ गुम्बामा भेला भएर आफ्नो महान पर्व तमु ल्होसार हर्षोउल्लासपूर्वक मनाएका हुन् ।
गुरुङ समुदायको भेषभुषा झल्किने झाँकीसहित साँस्कृतिक कार्यक्रम गरी पर्व मनाइएको गुरुङ राष्ट्रिय परिषद्का मधेश प्रदेश प्रमुख एकबहादुर गुरुङले जानकारी दिए । गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समितिका अध्यक्ष नरेन्द्र गुरुङको अध्यक्षता तथा मधेश प्रदेश कार्य समितिका प्रमुख एकबहादुर गुरुङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा परिषद्का केन्द्रीय सदस्य शम्भु गुरुङ, मूर्तियाका वडाध्यक्ष तुलसी लुईटेललगायतको आतिथ्यता रहेको थियो ।
सर्लाहीमा गुरुङ समुदायको ५५÷६० घरधुरीजति बसोवास छ । मूर्तिया उनीहरुको मुख्य गढ हो भने नयाँरोड, हरिवन, मिलनचोक, शंकरपुर, हजरिया, भक्तिपुर, श्रीनगरलगायत ठाउँमा बसोवास छ ।