बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका–१६, टिकुलियामा विद्युत् चुहावट गरेर उपयोग गर्ने ७ जना पक्राउ परेका छन् ।
नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रबाट खटिएको हुकिङ नियन्त्रण टोलीले बुधबार बिहान २ बजेको समयमा हुकिङ लगाएर बिजुली बत्ती बाल्ने र अन्य विद्युतीय उपकरण चलाउनेहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई विद्युत् चुहावट ऐन अन्तर्गत जरिवाना तिराएर मात्रै छाडिने प्राधिकरणको बरहथवा वितरण केन्द्रका प्रमुख छोटेलाल यादवले जानकारी दिए ।
कार्यालयले गएको साउनदेखि हालसम्म विद्युत् चुहावट गर्ने ११७ जनालाई पक्राउ गरी कारवाही चलाएको छ । जिल्लाको दक्षिणी भेगका ग्रामीण भेगमा विद्युत् चुहावटको ठूलो समस्या छ ।