बसबरिया – सर्लाहीको बसबरिया गाउँपालिका–५, धनगढामा चिसोले कठ्यांग्रिएर एक दलित वृद्धाको ज्यान गएको दावी गरिएको छ ।
स्थानीय ७९ वर्षीया श्रीपतीदेवी पासवानको चिसोले कठ्यांग्रिएर ज्यान गएको परिवारका सदस्यले दावी गरेका हुन् । हिजो मंगलबार दिउँसो चिसोमा आगो बालेर ताप्नका लागि गाउँ भन्दा अली पर दाउरा खोज्न गएका बेला पासवान अचानक बेहोस भएर लडेकी थिईन् । उनलाई तत्कालै उपचारका लागि अस्पतालतर्फ लाँदै गर्दा बाटोमा नै ज्यान गएको श्रीपतीदेवीका छोरा बच्चेलाल पासवानले बताए ।
चिसो स्याँठ चलेका बेला घर बाहिर निस्किएको समयमा आमाको कठ्यांग्रिएर मृत्यु भएको छोरा बच्चेलालले बताए । प्रहरीले भने यस घटनाका सम्वन्धमा जानकारी नरहेको जनाएको छ ।
सर्लाहीमा यसअघि चिसोले कठ्यांग्रिएर हरिपुरमा ३ जना स्थानीय र हरिवनमा मागी खाँदै हिँड्ने एक जनाको ज्यान गइसकेको छ ।
यसैबीच, सर्लाहीमा आज यस वर्षकै अत्यन्तै धेरै चिसो महशुस गरिएको छ । घाम देखा नपरी दिनभर हुस्सु लागेर निरन्तर चिसो स्याँठ चल्दा जिल्लावासीले अत्यधिक चिसो महशुस गरेका हुन् ।