logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हरिपुर र ईश्वरपुरमा १५ सय बढी परिवारलाई न्यानो कपडा वितरण गरिँदै


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिपुर र ईश्वरपुरमा एक हजार पाँच सय अतिविपन्न परिवारलाई न्यानो कपडा वितरण सुरु गरिएको छ ।

विपद्को क्षेत्रमा सक्रिय संस्था बागमती सेवा समाज नेपाल हरिवनले इस्लामिक रिलिफ नेपाल काठमाडौँसँग सहकार्य गरी यि दुई पालिकाका एक हजार ५३० परिवारलाई न्यानो कपडा वितरण गर्न सुरु गरेको हो । एक परिवार बराबर करिव आठ हजार ५०० रुपियाँ बराबरको कम्बल, सिरक, झुल, मोजा, टोपी लगायत चिसोमा लगाउने न्यानो कपडा वितरण गर्न सुरु गरिएको बागमती सेवा समाज नेपालले जनाएको छ ।

कठ्याङग्रिदो चिसोमा न्यानो कपडा पाएपछि लाभाग्राही परिवार खुसी भएका छन् । हरिपुर नगरपालिकाको वडा नं. ४ र ९ तथा ईश्वरपुर नगरपालिकाको वडा नं. १, ३ र ९ मा मुसहर, अन्य दलित र मुस्लिम परिवारलाई न्यानो कपडा वितरण गरिने बागमती सेवा समाज नेपालका गजेन्द्र साहले बताए ।

ईश्वरपुरमा नगरप्रमुख मनोजकुमार आचार्य र हरिपुरमा नगरप्रमुख गोपाल पंजियारको प्रमुख आतिथ्यतामा शनिबार बाट न्यानो कपडा वितरण कार्यको शुभारम्भ गरिएको साहले बताए । न्यानो कपडा वितरण कार्यमा संस्थाका अध्यक्ष भरतकुमार कार्की, कार्यकारी निर्देशक निरज भण्डारी, सम्वन्धित वडाका वडाध्यक्षलगायत अन्य सरोकारवाला सरिक भएका छन् ।

दुई पालिकाका एक हजार ५३० परिवारलाई कपडा वितरण गरिसक्न केही दिन लाग्ने संस्थाले जनाएको छ ।